राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौंमा सांसदहरूलाई संसदीय प्रक्रिया, भूमिका तथा पार्टीको नीतिका विषयमा प्रशिक्षण दिने तयारी गरेको हो।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिकाबारे स्पष्ट पार्न यो कार्यक्रम तय गरिएको हो। त्यसका लागि सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म काठमाडौं उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिइएको छ।
कार्यक्रम सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुनेछ। प्रशिक्षणका क्रममा संसद्मा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने र जनसरोकारका मुद्दाहरूलाई प्रभावकारी रूपमा कसरी उठाउने भन्ने विषयमा विज्ञहरूले सांसदहरूलाई मार्गदर्शन गर्ने योजना छ।
रास्वपाले यस कार्यक्रमलाई आफ्नो संसदीय यात्राको महत्त्वपूर्ण तयारीका रूपमा लिएको जनाएको छ। महामन्त्री बुर्लाकोटीले सबै सांसदहरूलाई निर्धारित समय र तालिका अनुसार पूर्ण तयारीका साथ कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
प्रकाशित: २ चैत्र २०८२ १४:०७ सोमबार





