राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई ‘जेन जी’ पुस्ताको आन्दोलनको नेतृत्व लिन आह्वान गरेका छन्।
सोमबार भएको सरकारी दमनलाई ‘नरसंहार’ को संज्ञा दिँदै शाहीले स्थापित राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र व्यक्तित्वले अबको आन्दोलनको नेतृत्व गर्नुपर्ने संकेत गरेका हुन्।
सामाजिक सञ्जालमा मार्फत् शाहीले प्रमुख शाहलाई आन्दोलनको अग्रभागमा आउन आग्रह गरेका हुन्। उनले लेखेका छन्- ‘आजको रात देशका लागि बलिदान दिने जेन जीका लागि जागौं।’
शाहीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मात्र पर्याप्त नहुने भन्दै उनीहरूमाथि नरसंहारको मुद्दा चलाउन माग गरे। ‘प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनु पर्छ,’ उनले भने।
‘जेन जी’ को प्रदर्शनमा प्रहरी दमनबाट युवाहरूको मृत्यु भएपछि देशमा आक्रोश र तनावको स्थिति छ। स्वतन्त्र उम्मेदवारको रूपमा युवाहरूको ठूलो समर्थनमा निर्वाचित भएकाले शाहले यो आन्दोलनको नेतृत्व लिनुपर्ने आवाज सामाजिक सञ्जालमा पनि उठ्न थालेको छ।
प्रकाशित: २३ भाद्र २०८२ २१:०७ सोमबार





