१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेमा कारबाहीको शृंखला सुरु

नेकपा एमालेको कोशी प्रदेश कमिटीले ताप्लेजुङका दुई नेतालाई कारबाही गरेको छ । कारबाहीका क्रममा पार्टी सदस्यता निलम्बन गर्दै मंसिर ११ गतेको मितिदेखि लागु हुनेगरी जिम्मेवारीबाट मुक्त गर्दै  १५ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।  

एमाले कोशी प्रदेश कमिटी घनश्याम खतिवडाका अनुसार पार्टी सदस्यता निलम्बनसहित जिम्मेवारीबाट मुक्त गरिएकामा बलबहादुर साम्सोहाङ र मणिशंकर पोमू छन् ।  

साम्सोहाङ एमाले जिल्ला कमिटीका पूर्व अध्यक्ष तथा कोशी प्रदेशका पूर्व मन्त्री हुन् । अहिले उनी एमाले कोशी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्यको जिम्मेवारीमा छन् ।  

पोमू एमाले जिल्ला कमिटीका पूर्व उपसचिव तथा एमाले कोशी प्रदेश पर्यटन विभागका सचिव हुन् । साम्सोहाङ र पोमू माथि एमालेको ११ औं राष्ट्रिय महाधिबेशनको प्रतिनिधि छनौटको क्रममा निर्वाचन समितिका संयोजक राजकुमार चुडाँल माथि साँघातिक आक्रमण र निर्वाचन कार्यक्रममा अवरोध खडा गर्न खोजेको आरोप लगाईएको छ ।  

लिखित स्पष्टीकरण पेश गर्ने अवधिसम्म पार्टी सदस्यताबाट निलम्बन गरिएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ । सर्वसहमतिमा महाधिबेशन प्रतिनिधि चयन गरेर एकताको सन्देश दिएको दावी गर्दै आएको एमालेमा फेरि कारवाहीको श्रृंखला सुरु भएको छ । 

प्रकाशित: १७ मंसिर २०८२ १५:३२ बुधबार