राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा सांघातिक आक्रमण भएको भन्दै संसद्मा कुरा उठेको छ। मंगलबार बोल्दै नेकपा एमालेका सांसद ऐनबहादुर महरले घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनका अनुसार सुदूरपश्चिम प्रदेशको अधिवेशन सकेर घर फर्किने क्रममा असार १ गते राति ७/८ जनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको थियो। सिंह गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बझाङबाट रास्वपाका उम्मेदवार थिए।
महरले भने, 'आक्रमणकारीले सिंहसँग भएको बहुमूल्य सामान, ल्यापटप, घडी, मोबाइल र सिक्रीसमेत लुटेका छन्। आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा रास्वपाकै जिम्मेवार नेतामाथि यस्तो आक्रमण हुनुले मुलुकमा दण्डहीनता र अराजकता बढेको स्पष्ट पार्छ।'
सांसद महरले घाइते सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सो अवसरमा उनले एक वर्ष पहिले जापान पुगेका बझाङका दीपक धामीको जापानमा निधन भएको उल्लेख गर्दै शव नेपाल ल्याउन सरकारसँग सहयोगसमेत मागेका छन्।
मृतकको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउँदै महरले भने, 'पारिवारिक अवस्था नाजुक भएकाले दीपकको पार्थिव शरीरलाई नेपाल ल्याउन आवश्यक सहयोग तथा पहलकदमीका लागि म नेपाल सरकार र परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँछु।'
प्रकाशित: २ असार २०८३ १३:०७ मंगलबार





