उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्ता साझेदार दल एकमत देखिएका छन्। मंगलबार बसेको सत्ता पक्षको बैठकमा उपस्थित दलले उपसभामुख रानामगरलाई पदबाट एकमत राखेको बैठकमा उपस्थित कांग्रेसका एक नेताले बताए।
मंगलबार विकसित घटनाक्रमअनुसार पहिले नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख रानामगरलाई पदबाट हटाउने निष्कर्ष निकालेका थिए। त्यसपछि दुवै दलले छुट्टाछुट्टै संसदीय दलको बैठक बसालेर हस्ताक्षर संकलन गरिसकेका छन्।
त्यसपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सत्ता पक्षको बैठक बोलाइएको थियो।
जसमा सत्तामै रहेका र सरकारलाई समर्थन गरेका दलहरू जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी भएका थिए।
बैठकले एकस्वरमा उपसभामुख रानामगरले पदमा बस्ने नैतिक धरातल गुमाइसकेकाले अब उनले पद छाड्नुपर्ने निष्कर्ष निकालेको छ। सोही अनुसार अन्य दलले पनि धमाधम हस्ताक्षर संकलन सुरु गरिसकेको स्रोतले बतायो।
सुरुमा उपसभामुखले राजीनामा दिन दबाब दिने र नदिए प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद २३ अनुसारको प्रक्रियामा जाने सत्तापक्षको तयारी छ।
प्रतिनिधिसभा नियमावली परिच्छेद २३मा रहेको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ।
यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाइ भनेको ६९ जना सांसद हुन्छ। यद्यपि पदबाट हटाउन भने प्रतिनिधिसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्छ।
हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । त्यसअनुसार उपसभामुख रानामगरलाई हटाउने प्रस्ताव दर्ताका लागि ८३ जना सांसद आवश्यक पर्छ । सत्ता पक्षसँग अहिले १८४ जना सांसद रहेको दाबी गरिएको छ।
प्रकाशित: ३ भाद्र २०८२ १३:३८ मंगलबार




