२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

गुटबन्दीले रास्वपा पर्साको अधिवेशन अनिश्चित

कार्यकर्ताबीच झडप र कुटाकुट भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशन अनिश्चित बनेको छ।

आन्तरिक विवाद र गुटबन्दीका कारण शनिबार स्थगित भएको अधिवेशनअन्तर्गत आइतबार सुरु हुने भनिएको मनोनयन दर्ता प्रक्रिया समेत अघि बढ्न नसक्दा निर्वाचन अन्योलमा परेको हो।

विवाद समाधानका लागि आइतबार बिहान ८ बजेदेखि प्रक्रिया सुरु हुने भनिए पनि दिउँसो २ बजेसम्म कुनै पनि चुनावी गतिविधि हुन सकेनन्।

पार्टीका संस्थापक जिल्ला सभापति एवं पर्सा क्षेत्र नम्बर-१ का सांसद हरि पन्त र अन्य तीन सांसदहरूबीचको शक्ति सङ्घर्षले उग्र रूप लिएपछि जिल्ला अधिवेशन बिथोलिएको हो।

पर्सा क्षेत्र नम्बर-२ का सांसद सुशील शाह कानु, क्षेत्र नम्बर-३ का सांसद रमाकान्त चौरसिया र क्षेत्र नम्बर-४ का सांसद टेकबहादुर शाक्यको समूह सांसद पन्तको विपक्षमा उभिएपछि रास्वपाभित्रको आन्तरिक द्वन्द्व देखिएको हो।

यसअघि शनिबार वीरगन्ज महानगरपालिका–९ स्थित होटल गेट वेमा निर्वाचन प्रक्रिया चलिरहेका बेला दुई पक्षीय कार्यकर्ताबीच हानाहान भएको थियो।

होटलभित्र सुरु भएको विवाद सडकसम्म पुगेको थियो। कार्यकर्ताहरूले एक-अर्कामाथि हेलमेटले प्रहार गरेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि घटनास्थल पुगेको प्रहरीले लाठी चार्ज गरेर भिडलाई तितरबितर पारेको थियो।

यता, मन्त्रालयका संगठन विभाग सचिव शंकर श्रेष्ठ वीरगन्ज आउन लागेकाले मनोनयन प्रक्रियामा ढिलाइ भएको सांसद हरि पन्त बताउँछन्।

‘संगठन विभाग सचिव दिउँसो ३ बजेसम्म आइपुग्ने कार्यक्रम छ, उहाँ आएपछि सबै पक्षसँग छलफल गरेर मात्र निर्वाचनको कार्यक्रम अगाडि बढाइनेछ,’ पन्तले सुनाए।

उनले पार्टीका नवप्रवेशीहरूले संस्थापक पक्षलाई विस्थापित गर्न खोजेको आरोप लगाए पनि संगठन अझै एक ढिक्का रहेको दाबी गरे।

शनिबारको झडपमा मनोनयन दर्ता रोक्न खोज्ने क्रममा सुधीर पटेल र महादेव कुर्मी लगायतका कार्यकर्ता घाइते भएका थिए। सांसद पन्तले भने पटेल र कुर्मीले नै अन्य कार्यकर्तामाथि हातपात गरेर पार्टी अनुशासन विपरीत कार्य गरेको आरोप लगाएका छन्।

उता, विपक्षी समूहले भने पन्तले प्रतिनिधि छनोटमा एकलौटी गरेको र जिल्ला संगठन पुनः कब्जा गर्न खोजेको आरोप लगाएको छ।

विवादको सुरुवात शनिबार दिउँसो पार्टी सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेल र क्षेत्रीय सभापति राम आर्यसहितको समूहले मधेस प्रदेश उपसभापति एवं निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापन पत्र बुझाएपछि भएको थियो।

उनीहरूले जिल्ला अधिवेशन स्थगित गर्न माग गरेका थिए। निर्वाचन समितिले दुई घण्टाका लागि मात्र प्रक्रिया रोकेर पुनः सुचारु गरेपछि आक्रोशित समूह होटलभित्र प्रवेश गरी चुनावी गतिविधि अवरुद्ध पारेको थियो।

एकातिर क्षेत्र नम्बर-१ का सांसद पन्त छन् भने अर्कोतिर बाँकी तीनवटै क्षेत्रका सांसदहरू मोर्चाबन्दी गरेर बसेका छन्।

प्रकाशित: २४ जेष्ठ २०८३ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App