सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि दुईदिने ‘संसदीय अभ्यास तथा नेतृत्व विकास’ प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।
‘सक्षम सांसद सशक्त संसद्’ भन्ने नाराका साथ पार्टीको प्रशिक्षण विभागले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सो कार्यक्रम आयोजना गरेको हो।
शनिबार आयोजित उद्घाटन सत्रमा पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षणको संयुक्त रूपमा सुरुवात गरे। रास्वपाले आफ्ना सांसदहरूलाई सदन र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम राखेको जनाएको छ।
प्रशिक्षणमा संसदीय समितिमा हुने छलफल, सदनमा गरिने प्रस्तुति, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व र विषयगत छलफलका विषयमा सांसदहरूलाई प्रशिक्षित गरिनेछ।
पार्टीले सांसदहरूको क्षमता विकास, आत्ममूल्याङ्कन, अनुभव आदान–प्रदान र भविष्यको राजनीतिक संस्कार निर्माणका लागि यो कार्यक्रमलाई महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ।
दुई दिनसम्म चल्ने यस प्रशिक्षणमा पार्टीले सांसदहरूलाई अनिवार्य सहभागी हुन निर्देशन दिएको थियो। यद्यपि, कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ।
शनिबारको प्रशिक्षण कार्यक्रममा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने भने सहभागी भएनन्।
कार्यक्रममा पार्टीका महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पदाधिकारी र सांसदहरूको उपस्थिति रहेको थियो।
बिहान ११ः३० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने यस प्रशिक्षणको समापन आइतबार पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय गरिएको छ।
दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन्। साथै, सह-महामन्त्री विपिनकुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने छन्।
प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने छन्। सभापति लामिछानेले पार्टीको मुल एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता र जनउत्तरदायी सांसदको रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे मार्गनिर्देशन गर्ने छन्।
यस दुई दिने सघन प्रशिक्षणले रास्वपाका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै जनसरोकारका मुद्दाहरूमा सदनमा अझ सशक्त र प्रखर रूपमा प्रस्तुत हुन आवश्यक ऊर्जा र ज्ञान प्रदान गर्ने विश्वास लिइएको छ।
प्रकाशित: २७ वैशाख २०८३ ०६:५६ आइतबार





