राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विशेष चुनावी सभा जनकपुरधामस्थित तरहुतियागाछीमा सुरु भएको छ।
‘परिवर्तन उद्घोष सभा’ नाम दिइएको यस कार्यक्रममा सहभागी हुन हजारौंको संख्यामा सर्वसाधारण र पार्टी कार्यकर्ताहरू उपस्थित भएका छन्।
कार्यक्रममा रास्वपाका वरिष्ठ नेता एवं काठमाडौंका निवर्तमान मेयर बालेन शाह र पार्टी सभापति रवि लामिछानेले केही बेरमा विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
बालेन शाहले रास्वपा प्रवेश गरेपछिको यो पहिलो सार्वजनिक राजनीतिक मन्तव्य हुनेछ।
सभालाई सम्बोधन गर्नुअघि दुवै नेताले मञ्चबाट उपस्थित जनसागरलाई अभिवादन गरेका थिए। कार्यक्रम स्थलमा ‘घन्टी’ चुनाव चिह्न सहितका झन्डाहरू फहराइएका छन् भने समर्थकहरूले बालेन र रविको पक्षमा नाराबाजी गरिरहेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर-५ बाट उम्मेदवारी दिने घोषणा गरेका बालेनले मधेसको मुटु जनकपुरबाट आफ्नो औपचारिक चुनावी यात्रा थालनी गरेका हुन्।
यसअघि आजै बिहान उनले जानकी मन्दिरमा पूजाअर्चना गर्नुका साथै सिराहाको लहान पुगेर मधेस आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रकाशित: ५ माघ २०८२ १५:२४ सोमबार





