२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दीपक बोहराबारे रास्वपा: पद त्याग प्राविधिक, सह-महामन्त्री ‘मज्जाले’ बन्न सक्नुहुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता दीपक बोहरालाई पाखा लगाइएको वा उनको भूमिका खुम्च्याइएको भन्ने चर्चाको खण्डन गरेको छ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले बोहराको सह-कोषाध्यक्ष पदबाट राजीनामा प्राविधिक र कानुनी बाध्यता भएको र सह-महामन्त्री बन्ने सम्भावना अझै जीवित रहेको स्पष्ट पारेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अर्यालले मिडियामा आएका गलत भाष्यलाई चिर्न आवश्यक रहेको बताए। उनले भने, ‘दीपक बोहराजी यो पार्टीको बीउ रोप्ने मान्छे हो। उहाँलाई पाखा लगाउने भन्ने प्रश्नै उठ्दैन।’

सह-कोषाध्यक्ष पद किन छाडे ?

अर्यालका अनुसार, रास्वपाले आफ्नो विधान संशोधन गरी महाधिवेशनपछि एक जना मात्र सह-कोषाध्यक्ष रहने व्यवस्था गरेको थियो। तर, हाल पार्टीमा दीपक बोहरा र बसुमाया तामाङ गरी दुई सह-कोषाध्यक्ष थिए। उक्त संशोधित विधान निर्वाचन आयोगमा अद्यावधिक गर्नका लागि आयोगले एक जना सह-कोषाध्यक्ष हटाउनुपर्ने कानुनी अड्चन देखाएको थियो।

‘हामी समावेशिताको कुरा गर्छौं। बसुमायाजी स्थापनाकालदेखि नै हुनुहुन्छ, उहाँ महिला र आदिवासी जनजाति क्लस्टरबाट पनि प्रतिनिधित्व गर्नुहुन्छ,’ अर्यालले भने, ‘त्यसैले उहाँलाई निरन्तरता दिने र आफूले ससम्मान राजीनामा दिने निर्णय दीपकजीले नै फराकिलो छाती बनाएर गर्नुभएको हो। यो उहाँको त्याग हो।’

सह-महामन्त्रीको प्रस्ताव किन रोकियो ?

दीपक बोहरालाई सह-महामन्त्री बनाउने विषयमा पार्टीभित्र विवाद भएको भन्ने कुरालाई पनि अर्यालले अस्वीकार गरे। उनले बोहरा ‘काम गर्ने नेता’ भएको र उनको सक्रियताका लागि पार्टी सचिवालयले एकमतले सह-महामन्त्री बनाउने प्रस्ताव केन्द्रीय समितिमा अनुमोदनका लागि पठाएको जानकारी दिए।

‘हामीसँग तीन सह-महामन्त्री पदमध्ये दुईवटा खाली नै छ। महिलाको पद खान खोज्यो भनेर आएको कुरा गलत हो,’ उनले भने, ‘केन्द्रीय समितिका केही साथीहरूले यसबारे पहिले नै छलफल गर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने मत राख्नुभएको मात्र हो। यो कुनै विवाद होइन, पार्टी निर्माण प्रक्रियाको एउटा अंश हो।’

उनले बोहरा सह-महामन्त्री बन्ने सम्भावना ‘मज्जासँग’ रहेको र यसबारे थप छलफल गरेर निर्णय लिइने बताए। अर्यालले रास्वपा तेस्रो वर्षमा चलिरहेको नयाँ पार्टी भएकाले हरेक विषयमा खुला छलफल हुनुलाई द्वन्द्वको रूपमा नबुझ्न आग्रह गरे।

प्रकाशित: २९ श्रावण २०८२ २१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App