आइतबारबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठकले वर्तमान संविधानमा भएका मूलभूत प्रावधान स्वीकार गरेरै जाने सैद्धान्तिक सहमति जुटेको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकमा यस्तो सहमति जुटेको हो।
पहिलो दिनको केन्द्रीय समिति बैठकमा पार्टीमा समाहित भएका पक्षको समायोजन, निर्वाचन टिकट व्यवस्थापन र पार्टीले अंगिकार गर्ने सैद्धान्तिक विषयमा छलफल भएको थियो। जसमा सैद्धान्तिक पक्षको छलफल लगभग टुंगिएको छ।
विशेष गरी उज्यालो नेपाल पार्टीबाट आएको पक्षले रास्वपाको सैद्धान्तिक धरालत, संविधानको स्वीकार्यता, संघीयता, धर्मनिरपेक्षता, समावेश÷समानुपातिक प्रणालीबारे प्रष्टता खोजिरहेको थियो। उज्यालोको एक पक्षले यस्ता विषयमा रास्वपासँग पूरक सम्झौता नै हुनुपर्ने अडान नै राखेको थियो।
‘सैद्धान्तिक पक्षमा लगभग सबैजसो कुरामा सहमति जुटेको छ,’ उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य रहेका जितराम लामाले भने, ‘संविधानलाई स्विकार्ने, संविधानको मूलभूत पक्षहरू संघीयता, धर्मनिरपेक्षतालगायतका विषय पनि आत्मसात् गर्ने कुरा भएको छ। सँगै संघीयतालाई अझै प्रभावकारी बनाउने पनि सहमति जुटेको छ। यी विषय निर्णय नै भइसके भन्दा पनि हुन्छ।’
समायोजन गर्न कार्यदल, पदाधिकारी थप
यस्तै विभिन्न पार्टी र समूह रास्वपा एकता भएर आएपछि सबैको सम्मानजनक समायोजन गर्नेबारे पनि सहमति जुटेको रास्वपास्रोतले जनाएको छ। त्यसका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा समायोजन व्यवस्थापन समिति नै बनेको छ। उक्त समितिमा रास्वपाबाट थप एक सदस्य, बालेन समूह र कुलमान समूहबाट दुई–दुई जना सदस्य पनि राखिने तय भएको छ।
त्यही समितिले पार्टीको केन्द्रीय समितिदेखि मातहतका पद बाँडफाँट गरेर समायोजन प्रस्ताव ल्याउनेछ। त्यसपछि केन्द्रीय समितिबाट निर्णय हुने भनिएको छ।
यस्तै शक्ति सन्तुलन मिलाउन केन्द्रीय समितिबाट चार पदाधिकारी थपिएका छन्। जसमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सह प्रवक्ताको पद निर्धारण गरिएको छ।
थपिएको उपसभापति पदमा कुलमान घिसिङ पहिलो वरियताको उपसभापति हुनेछन्। रास्वपा यसअघि डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले गरी दुई जना उपसभापति थिए।
यस्तै एक महामन्त्री पद बालेन समूहलाई दिइने भएको छ। उक्त पदमा सुनिल लम्साललाई ल्याउने छलफल भइरहेको छ। लम्साल काठमाडौं महानगरको विज्ञ सल्लाहकारका रूपमा कार्यरत छन्। रास्वपा यसअघि डा. मुकुल ढकाल महामन्त्री थिए। उनलाई पार्टीबाट निष्कासन गरेपछि रिक्त ठाउँमा सहमहामन्त्री रहेको कवीन्द्र बुर्लाकोटीलाई बढुवा गरिएको थियो।
यस्तै थपिएको एक सहमहामन्त्री पदमा बालेन समूह र कुलमान समूहको दाबी छ। यद्यपि हालसम्म बालेन समूहको बलियो दाबेदारी छ। जसमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहलाई ल्याउने तयारी छ। तर, कुलमान पक्षले यसअघि एकता हुँदा नै उपसभापति र महामन्त्री गरी दुई पदमा दाबी गरेको थियो। महामन्त्री नपाइए पनि सहमहामन्त्री पाउनुपर्ने उसको अडान छ। रास्वपा यसअघि विपिन आचार्य एक जना सहमहामन्त्री छन्।
तर, कुलमान पक्षलाई थपिएको एक सह प्रवक्तामा थन्काउने रास्वपाको तयारी छ। यसअघि प्रतिभा रावल र रमेश प्रसाईँ गरी दुई जना सह प्रवक्ता छन्।
यस्तै उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष रहेका अनुपकुमार उपाध्यायलाई सल्लाहकार परिषद् अध्यक्ष बनाउने सहमति जुटेको कुलमान पक्षको दाबी छ। केन्द्रीय सदस्यमा पनि सम्मानजनक बाँडफाँट हुने गरी मिलाउने जिम्मा कार्यदललाई दिइएको एक केन्द्रीय सदस्यले बताए।
बालेनसहित ३३ जना केन्द्रीय सदस्य
पहिलो दिनको बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन पनि गरेको छ। त्यसअघि आइतबारकै बैठकमा विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको थियो। यसरी एकैदिन ३३ जना केन्द्रीय सदस्य थपिएका छन्।
स्वर्णिमको नेतृत्वमा उम्मेदवार छनोट सिफारिस कार्यदल
बैठकले उपसभापति वाग्लेको नेतृत्वमा उम्मेदवार छनोट सिफारिस कार्यदल पनि गठन गरेको छ। सो कार्यदलमा तीन वटै पक्षबाट दुई–दुई जना सदस्य राखिएको छ।
‘आजको बैठकमा कुन पक्षले कति उम्मेदवार पाउने? वा कति केन्द्रीय सदस्य पाउने? भन्ने बारे निर्णय नै भएन,’ उज्यालो केन्द्रीय सदस्य लामाले भने,‘पार्टी एक भइसकेपछि सबै पक्षमा रहेका व्यक्तिको योग्यता, क्षमता हेरेर पार्टीले सर्वसम्मत निर्णय गर्ने कुरा भएको छ।’
कार्यदलले पनि व्यक्तिको योग्यता, क्षमताको पहिचान गरेर कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिने भनेर आवश्यक निर्णय गरी केन्द्रीय समितिमा सिफारिस गर्ने सहमति जुटेको उनले बताए।
रास्वपाको केन्द्रीय समिति बैठक सोमबार पनि जारी रहने भनिएको छ।
प्रकाशित: २० पुस २०८२ २०:०४ आइतबार




