सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबार चितवनमा सुरु भएको छ। चार वर्षअघि अर्थात् २०७९ असार ७ गते स्थापना भएको रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गरेका हुन्।
लामिछानेले चार वर्षअघि सञ्चार कर्म छाडेर मुलुकमा वैकल्पिक शक्ति निर्माणका लागि ‘घण्टी’ बजाउँदै रास्वपा गठन गरेका हुन्। पार्टी गठन गर्दा उनले पुराना राजनीतिक दलप्रति लक्षित गर्दै भनेका थिए, ‘एक जनालाई संसद् छिर्नबाट म रोक्छु। अरूलाई रोक्न तपाईंहरू आउनुहोस्।’
स्थापनाको ६ महिना पुग्दानपुग्दै मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सातसहित २१ सिट जितेर रास्वपा चौथो ठुलो दल बनेको थियो। जनताले त्यही निर्वाचनमार्फत पुराना दललाई सच्चिन संकेत गरेका थिए। पुराना दलले पुरातनवादी सोच र प्रवृत्तिकै कारण मुलुकमा बढ्दो भ्रष्टाचार र असन्तुष्टिलाई सम्बोधन गर्न सकेनन्। रास्वपाका पक्षमा जनताले बजाएको घण्टीलाई बेवास्ता गर्दै पुराना दल अघि बढे। त्यो असन्तुष्टि अघिल्लो वर्षको भदौ २३ र २४ गते विद्रोहमा परिणत भयो। विद्रोहले पुराना दललाई सत्ता र शक्तिबाट हटायो भने फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनले जनमतबाट पनि पाखा लगायो।
पार्टी गठनको चार वर्षको अवधिमा लामिछानेले बालेन्द्र शाहसहित हजारौंलाई गोलबद्ध गरे। त्यसैको परिणाम फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा करिब दुई तिहाइनजिक सिट जितेर देशकै ठुलो पार्टी बनेर सत्तामा पुगेको हो। प्रतिनिधिसभामा उसका १८२ सांसद छन्। मुलुकमा मौलाएको विकृति, विसंगति, अन्याय, अत्याचार र कुशासनविरुद्ध रास्वपाले बजाएको विद्रोहको घण्टीलाई जनताले निर्वाचनमार्फत अनुमोदन गरेका हुन्। विद्रोहको प्रतीक बनेको रास्वपाको चुनाव चिह्न ‘घण्टी’ बजाएर सभापति लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहले पहिलो महाधिवेशन उद्घाटन गरेका हुन्।
आमजनताले रास्वपा महाधिवेशन उद्घाटनका क्रममा बजेको घण्टीलाई विश्वास, भरोसा, सुशासन र विकासको चाहनाका रूपमा लिएका छन्। उद्घाटनसभामा निर्वाचनका बेला जनतामाझ पार्टीले गरेका वाचा पूरा गर्ने प्रतिबद्धता सभापति लामिछाने र वरिष्ठ नेता शाहले गरेका छन्।
कुनै पनि दल गठन हुनु र निर्वाचन जित्नु मात्र ठुलो कुरा होइन। उसले जनताको विश्वास आर्जन गरिराख्नु र भरोसा टुट्न नदिनु ठुलो कुरा हो। जेनजी विद्रोह हुनुभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओली र पुराना दलसँग संसद्मा बहुमत थियो। तर जनताको त्यो विश्वास र भरोसा टुट्दा पुराना दल सत्ता र जनमतबाटै च्युत हुनुप¥यो। अहिले रास्वपालाई देश र जनताले संघीय लोकतान्त्रिक गणतन्त्र अझ संस्थागत गर्ने भरोसायोग्य वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा हेरेको अवस्था छ।
रास्वपा महाधिवेशनबाट संस्थागत हुँदै बहुलवादमा आधारित लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा अझ स्पष्ट भएर आउने बुझाइ र विश्वास विभिन्न क्षेत्रबाट गरिएको छ। सभापति लामिछानेले विगतका सबै परिर्वतनलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। ‘देशमा भएका विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याउँदा भएका त्याग, बलिदान, संघर्षको सम्मानको जगमा हामी उभिएका छौं,’ उनले महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै भने, ‘हामीलाई यसमा गर्व छ। हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौं। हामी यी मूल्य र मान्यता तथा लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख हुने छैनांै।’
फागुनको निर्वाचनबाट रास्वपाले आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस जस्ता दलहरूलाई संसद्मा आश्चर्यजनक तरिकाले खुम्चाइदिएको छ। उनीहरूको विरासत र सांगठनिक संरचना रास्वपाले भत्काइदिएको छ। तर रास्वपा अझै संस्थागत रूपमा विकास हुनै बाँकी छ। देशभरिका जनताबाट उसले अधिक मत पाए पनि ऊ पहिलो महाधिवेशनमार्फत तल्लो तहसम्म संगठन लिएर पुगेको छ।
नेपाली कांग्रेस, एमालेसहितका दलहरू र रास्वपाको निर्माण भने फरक छ। पुराना दलहरू एउटा विचार र कार्यक्रमका आधारमा माथिबाट तलसम्म जोडिएका थिए। तर रास्वपा पुराना दलमा अवसर नपाएका र तिनका नेताबाट असन्तुष्ट जमातबाट निर्माण भएको हो। जहाँ कांग्रेस, एमाले, तत्कालीन माओवादीसहित विभिन्न दल र समूहबाट बाहिरिएको ठुलो जमात छ।
पुराना दलमा मौलाएको भ्रष्टाचार, गुटबन्दी, नातावादबाट वाक्कदिक्क भएका जनताले निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा मत बदलेर रास्वपालाई जिताएका हुन्। रास्वपाले महाधिवेशनबाट समाउने वैचारिक दिशा र कार्यक्रमले निर्वाचनमा मत बदलेका जनतालाई मन नै बदल्ने कि नबदल्ने भन्ने निर्णयमा पु¥याउने छ। अवसरको खोजीमा जम्मा भएका नेता–कार्यकर्तालाई व्यवस्थित गर्नुपर्ने चुनौती महाधिवेशनलाई छ।
रास्वपा विगतका विकृतिलाई पन्छाएर अघि बढ्छ कि ढाकेर भन्नेतर्फ जनताले उत्सुक भएर हेरिहेका छन्। जनता झन्झटरहित सार्वजनिक सेवा, सुशासनसहितका विषयमा रास्वपाले महाधिवेशनबाट लिने नीतिको प्रतीक्षामा छन्। ‘हाम्रालाई होइन राम्रालाई’ भन्ने कुरा नारामा मात्र सीमित हुन्छ कि व्यवहारमा लागु हुन्छ भन्ने नियालिरहेको पछिल्लो पुस्ताले रास्वपाभित्र हुने लोकतान्त्रिक अम्यास हेरेर थप धारणा बनाउनेछ।
पार्टी स्थापनापछि भएको प्रदेशसभा निर्वाचनमा प्राविधिक त्रुटिले सहभागी नभएको रास्वपाले पछि त्यसलाई नै सैद्धान्तिकीकरण गर्दा संघीयताप्रति आमनागरिकले उसको स्पष्टता खोजेका छन्। त्यसमा पनि वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहको कार्यशैली र व्यवहारले उनीहरूमाथि प्रश्न गर्नेलाई बल पु¥याइदिएको छ। पार्टी र सरकारबिच समन्वय अभाव रहेको आशंका पनि गर्न थालिएको छ। रास्वपा नेतृत्व र सरकार प्रमुखबिच समन्वय र सहकार्यमा दरार आयो भने पुराना दल र यसमा खास फरक हुने छैन। २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारमा पुगेको कांग्रेसले सरकार र पार्टीबिच समन्वय र सन्तुलन कायम गर्न नसक्दा उसको आन्तरिक जीवन मात्र होइन, मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा अवरोध पुगेको तथ्य कसैबाट छिपेको छैन।
दल र सरकारबिचको सम्बन्धमा आशंका नगर्न आग्रह गर्दै लामिछानेले सरकार सञ्चालन गर्ने जिम्मेवारी वरिष्ठ नेता शाहको भएको बताएका छन्। दुवै नेताबिच विवाद बढेको आशंका व्यक्त भइरहेका बेला लामिछानेले त्यो आशंकमा सत्यता नभएको दाबी गर्दै भने, ‘चुक्ली लगाइदिने पनि धेरै छन्। हामीले वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पु¥याइसकेका छौं। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो। झुक्किएर त्यो बल कहीं आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।’
लामिछानेअघि महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले तीन दिन पार्टीका विषयमा छलफल गर्ने र बाँकी पाँच वर्ष देशका विषयमा सोच्ने बताए। आफू नेतृत्वको सरकारलाई गाडीसँग तुलना गर्दै उनले गन्तव्यमा मात्रै पुगेर यसान ब्रेक लाग्ने बताउँदै भने, ‘सरकार भनेको त गाडीजस्तै हो। गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक पनि हुन्छ। ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको भेटियो। त्यस्तो चिन्ताचाहिँ लोकल रोडमा सिधा गइरहँदा कहिले लेफ्ट, कहिले राइटबाट मान्छे आउँछ। हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन। हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।’
रास्वपा २०८० मंसिरमा जलेश्वरमा भएको बैठकले तय गरेको लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवाद मार्गदर्शकसहितको सिद्धान्तलाई आत्मसात् गर्ने निर्णय गरेको छ। महाधिवेशनले यसमा अझै स्पष्टता ल्याउँदै बहुदलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रलाई आगामी मार्गचित्र बनाउने आमबुझाइ छ। सभापति लामिछानेले महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधनका क्रममा पनि पार्टीको नीति तथा सिद्धान्त त्यही भएको स्पष्ट गरे। यसलाई आगामी दिनमा अझै स्पष्ट बनाउँदै जाने लामिछाने प्रतिबद्धता छ।
वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूतिसहितको बहुदलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेहीपूर्ण असल र समतामूलक शासन अहिलेको आवश्यकता हो। स्थापनाको चार वर्षमा अनेकौं आरोह–अवरोह खेपेको रास्वपाले आफूलाई त्यही बाटोमा अघि बढाउने आमबुझाइ र अपेक्षा छ।
प्रकाशित: ८ असार २०८३ ०७:०८ सोमबार





