७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा प्रथम महाधिवेशन : पार्टी सभापतिले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। असार नौ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

दिउँसो २ बजे हुने उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री शाह दिउँसो १२ बजेतिर चितवन आउने चितवनका पार्टी सभापति इन्जिनियर मिनि माधव खनालले जानकारी दिए। भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। उद्घाटन समारोह स्थललाई रवि र बालेनको तस्बिरसहित सजाइएको छ।

प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ। उद्घाटन हुनु अगाडिको दिन नै अधिकांश महाधिवेशन प्रतिनिधि चितवन आइसकेका छन्। महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि हुने छन्। थप तीन सय प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ। 

१५८ सदस्यीय केन्द्रीय समिति

रास्वपाले महाधिवेशनमा पेस गर्ने विधान संशोधन र पार्टीको संरचनासमेत संशोधन गरिसकेको छ। सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो।

एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहने छन्।

अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन। विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिवार्य महिला हुने छन्।  

प्रदेश सभापतिलाई पदेन सदस्य राख्ने गरी १५८ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन्।

पार्टी सभापतिले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने

विधानले १५८ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरेको छ। बृहत् राजनीतिक समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल जारी छ। अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति सदस्य चयन हुने छन्। पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुने छन्। प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ।  

विद्युतीय माध्यमबाट निर्वाचन हुने  

निर्वाचन आयोगले निर्वाचनको मिति समेत चयन गरिसकेको छ। महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली असार ७ गते राती ११ बजे तय गर्ने भनिएको छ। उम्मेदवारले असार ८ गते दिउँसो १ बजेदेखि फारम वितरण गर्ने जनाएको छ। असार ८ गते बिहान २ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता सुरु हुने जनाएको छ। निर्वाचन विद्युतीय तालिका मार्फत हुनेछ। रास्वपाको विधान अनुसार केन्द्रीय सदस्यले १९ जनाको पदाधिकारी चयन गर्नेछ।  

महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उनले बताए।  

भरतपुरको सुरक्षा व्यवस्था कडा

महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, उच्चपदस्थ व्यक्तिको सहभागिता रहने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ। महाधिवेशन स्थलदेखि हाकिमचोक, चौविसकोठी, मालपोतचोकसम्म सवारी आवागमनलाई समेत रोक लाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै तीन वटा सुरक्षा निकायबिच समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने भएको छ। जनपथ प्रहरी मात्रै एक हजारभन्दा बढी खटिने छन्। यहाँ बाहिरी जिल्लाबाट पनि प्रहरी ल्याइएको छ। अहिले भरतपुरका विभिन्न स्थानमा रास्वपाको प्रचार सामग्रीले रंगिएको छ।  

रास्वपाको बन्द सत्र चितवन उद्योग संघको सभाहलमा हुनेछ।

प्रकाशित: ७ असार २०८३ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App