राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएसँगै पार्टीको भावी राजनीतिक दिशा, नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण र आन्तरिक लोकतन्त्रका विषयमा बहस सुरु भएको छ। पार्टीले महाधिवेशनलाई नीति, नेतृत्व र संगठनलाई थप व्यवस्थित बनाउने अवसरका रूपमा लिएको जनाएको छ।
पार्टीका अनुसार छोटो समयमै देशभर आफ्नो संगठनात्मक विस्तारलाई तीव्र बनाएको छ। हाल ७७ वटै जिल्लामा संगठन विस्तार भइसकेको र करिब ६५० पालिका तथा पाँच हजारभन्दा बढी वडामा पार्टी संरचना निर्माण गरिएको बताएको छ । पार्टीका ओटीपी प्रमाणीकरण भएका सदस्यको संख्या करिब चार लाख पुगेको छ।
पार्टीले स्थापना कालदेखि नै विभिन्न राजनीतिक तथा संगठनात्मक चुनौतीको सामना गर्दै आएको भन्दै सभापतिले अनुभवलाई परिपक्व राजनीतिक अभ्यासका रूपमा लिएको बताएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा निर्वाचनदेखि संसद्सम्म अनेक अवरोधबाट गुज्रिएको भएपनि जनविश्वास कायम राख्न सफल भएको दाबी रास्वपाको छ।
महाधिवेशनमा पार्टीको विधान संशोधन, नेतृत्व चयन तथा वैचारिक दस्ताबेजमाथि व्यापक छलफल हुने जनाइएको छ। प्रस्तावित संशोधनअनुसार ‘वरिष्ठ नेता’ पदको व्यवस्था, केन्द्रीय समितिको आकार विस्तार तथा विभिन्न तहका समितिमा महिला सहभागिता सुनिश्चित गर्न संरचनागत सुधार गरिने तयारी गरिएको छ।
रास्वपाले युवा पुस्ताको ऊर्जा र अनुभवी नेतृत्वको मार्गदर्शनलाई सन्तुलित ढंगले अघि बढाउने नीति अवलम्बन गरिरहेको जनाएको छ। पार्टीभित्र गुनासो व्यवस्थापन तथा कार्यसम्पादन मूल्यांकनका संयन्त्रहरू पनि सक्रिय रहेको दाबी गरिएको छ।
पार्टी र सरकारबीचको समन्वय सुदृढ रहेको भन्दै सरकार सञ्चालनका क्रममा देखिएका चुनौतीलाई अवसरका रूपमा उपयोग गर्ने प्रयास गरिरहेको जनाएको छ। साथै नयाँ सोच र पुरानो प्रशासनिक संरचनाबीच तालमेल मिलाउँदै जनअपेक्षाअनुसार परिणाम दिन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।
यसैबीच राजनीतिक विश्लेषकहरूले रास्वपाको उदयलाई नेपाली नयाँ पुस्ताको परिवर्तन र समृद्धिको आकांक्षाको राजनीतिक अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्। पाँच वर्षको अवधिमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति बनेको पार्टीका लागि अवसरसँगै चुनौती पनि उत्तिकै रहेको उनीहरूको भनाइ छ।
विश्लेषकहरूले देश र इतिहासप्रतिको गौरवबोध विकास, आदर्श राजनीतिको संस्थागत अभ्यास, सकारात्मक राजनीतिक संस्कृतिको प्रवर्द्धन तथा पार्टी–सरकार सम्बन्धलाई स्पष्ट र व्यवस्थित बनाउने विषयमा रास्वपाले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
उनीहरूका अनुसार नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरण, संस्थागत विकास र विधिको शासनलाई प्रभावकारी रूपमा स्थापित गर्न सकिए मात्र नयाँ राजनीतिक शक्तिप्रतिको जनविश्वास दीर्घकालीन बन्न सक्छ। सामाजिक सञ्जालमा आधारित तात्कालिक लोकप्रियतालाई स्थायी राजनीतिक शक्तिमा रूपान्तरण गर्नु रास्वपाका लागि प्रमुख चुनौती हुने विश्लेषण गरेका छन्।
चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन्। नेतृत्व चयन सहमतिबाट वा आवश्यक परे निर्वाचनमार्फत गरिने पार्टीले जनाएको छ। महाधिवेशनले रास्वपाको आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र वैचारिक आधारलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ असार २०८३ १२:३१ आइतबार





