२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो: अदालतलाई दबाब छैन, तर रविको मुद्दा छिटो र निष्पक्ष हुनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा प्रवेश गरिसकेकाले यसको न्यायिक प्रक्रिया छिटो र निष्पक्ष हुनुपर्ने माग गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाकी नेतृ सोबिता गौतम र नेता हरि ढकालले अदालतको न्यायिक प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप र दबाब नदिने तर सरकारले प्रतिशोध साँध्न नहुनेमा जोड दिएका हुन्।

सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ गौतमले भनिन्, ‘रवि लामिछानेको मुद्दामा ट्रायल प्रक्रिया निष्पक्ष र छिटो हुनुपर्छ। यो मुद्दा अब अदालतमा गइसकेको छ र अदालतको आफ्नै नियमित प्रक्रिया हुन्छ।’

उनले अघिल्लो सरकारले प्रतिशोध साँधेको कुरामा दुईमत नरहेको बताउँदै विभिन्न राजनीतिक दलका नेताहरूले समेत अनौपचारिक संवादमा रवि लामिछानेमाथि धेरै नै प्रतिशोध साँधिएको स्वीकार गरिरहेको बताइन्।

उनले भनिन्, ‘अदालतमा पुगिसकेको मुद्दामा सरकारले धेरै हस्तक्षेप गर्ने ठाउँ हुन्छ कि हुँदैन, यो सोचनीय विषय हो। हामीले अदालतलाई हिजो पनि दबाब दिएका थिएनौँ, आज पनि छैन। अदालतले न्याय दिन्छ भन्नेमा हामी विश्वस्त छौँ।’

उनले सरकारले गर्ने कामकारबाही निष्पक्ष हुनुपर्ने र कसैलाई दबाउने वा प्रतिशोध साँध्ने नीति लिन नहुनेमा जोड दिइन्।

यसैगरी, पार्टीका नेता हरि ढकालले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनकै लागि योजनाबद्ध रूपमा जेलबाट निकालिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारे।

उनले भने, ‘ती समाचारहरुमा मेरो त्यति ध्यान पुगेको पनि छैन र ती चिजहरुलाई मैले अहिले केही बोल्न चाहिनँ।’

उनले लामिछानेको सुरक्षा संवेदनशीलताका कारण आफूहरू जेल पुगेको स्पष्ट पारे। ‘उहाँको सुरक्षाको विषयका लागि हामी पुगेका हौँ, हामीले सुरक्षाको दृष्टिकोणले त्यहाँ पुगेका थियौँ,’ ढकालले भने।

नेता ढकालले पार्टीले छठ पर्वलगत्तै सद्भाव यात्रा सुरु गर्ने जानकारी दिँदै समाजमा देखिएको हार्दिकताको खलबलीलाई सम्बोधन गर्न यात्रा गर्न लागिएको बताए।

पार्टीमा नयाँ आउनेहरुका लागि ठाउँ छ कि छैन भन्ने प्रश्नमा उनले महाधिवेशनसम्म पुग्दा केन्द्रीय समितिमा ६० जना सदस्य मनोनयन गर्न बाँकी रहेको र विभिन्न विभागहरूमा काम गर्नका लागि प्रशस्त ठाउँ रहेको बताए।

प्रकाशित: २५ आश्विन २०८२ १५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App