१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को रुपन्देही–३ को उम्मेदवार छनोट गर्दा आन्तरिक रूपमा प्रारम्भिक निर्वाचन गर्ने भएको छ। मंगलबार बसेको राप्रपा संसदीय समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

‘..बैठकले रुपन्देही–३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा यस पटक पार्टीले नवीन अभ्यासका रूपमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णय गरेको छ,’ उनले भने। 

कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइआएका आकाङ्क्षी उम्मेदवारमध्येबाटै प्रजातान्त्रिक ढङ्गबाट उम्मेदवार छनौट गरिने राप्रपाले जनाएको छ।  

त्यसका लागि मतदाता को हुने भन्ने विषयमा पनि राप्रपाले टुङ्गो लगाएको छ। जसमा रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, रुपन्देही–३ अन्तर्गतकै दुवै प्रदेशसभा कार्यसमितिका पदाधिकारी तथा सदस्य, रुपन्देही–३ अन्तर्गतका सबै वडा, गाउँ, नगर र उपमहानगर कार्यसमितिका पदाधिकारी तथा सदस्य, रुपन्देही–३बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, रुपन्देही– ३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ सङ्गठनका पदाधिकारी तथा सदस्य र ०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही– ३ अन्तर्गतका सक्रिय सदस्य आन्तरिक निर्वाचनमा मतदाता रहने राप्रपाले भनेको छ। 

‘तपसिल बमोजिमका मतदाताबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकाङ्क्षी उम्मेदवारलाई उक्त उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने निर्णय गरिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक प्रारम्भिक निर्वाचन यथाशीघ्र गरिने र सो को आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय भएको छ।’ 

प्रकाशित: १७ भाद्र २०८२ १७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App