१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

जय ट्रफी मेन्स इलाइट कप: एपिएफमाथि आर्मीको दबाब

ओपनर तृतराज दासको शतकीय इनिङमा त्रिभुवन आर्मी क्लबले जय ट्रफी मेन्स इलाइट कपको तेस्रो खेलमा विभागीय टोली एपिएफविरुद्ध दबाब बनाएको छ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले पहिलो दिनको खेल सकिँदा विभागीय डर्बीमा एपिएफसँग एक सय १२ रनको अग्रता लिएको छ। ओपनर तृतराजको शतकसँगै आर्मीले पहिलो इनिङमा ९ विकेटको क्षतिमा दुई सय ५२ रन जोड्दै इनिङ समाप्त गर्ने घोषणा गर्‍यो। पहिलो इनिङमा एपिएफ ९ विकेटको क्षतिमा १४० रनको अवस्थामा छ।

कप्तान रोहित पौडेल ४८ रनमा क्रिजमा छन् भने उनलाई दोस्रो दिन अभिशेष गौतमले साथ दिनेछन्। ओपनरद्वय दीपक बोहोरा २१ रन र आसिफ शेख १४ रनमा आउट भए। मध्यम गतिका बलर सोमपाल कामीले दुवै ओपनरलाई पभेलियन फर्काएका हुन्। मध्यक्रमका ब्याटर सुमित महर्जन १५ र लोकेश बम १४ रनमा आउट भए। यो नै एपिएफका लागि दोहोरो अंकको रन रह्यो।

अन्य ब्याटरले लामो समय क्रिजमा टिक्न सकेनन्। तेस्रो नम्बरमा आएका रोहितले इनिङ समालिरहेका छन्। आर्मीका बलर सोमपालले ९ ओभरमा चार विकेट लिँदै एपिएफको इनिङ धराशयी बनाए। स्पिनर नरेन साउदले दुई तथा तृतराज र बसिरले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले उत्कृष्ट प्रदर्शन गर्‍यो।

ओपनरद्वय तृतराज र इमरान शेखले पहिलो विकेटका लागि १७२ रनको विशाल साझेदारी गरे। यससँगै आर्मी विशाल इनिङतर्फ अग्रसर थिये। युवा स्पिनर युवराज खत्री एक्लैले पाँच विकेट लिँदै आर्मीको लक्ष्य पूरा हुन दिएनन्। आर्मीले ९ विकेटको क्षतिमा दुई सय ५२ रनमा इनिङ समाप्तिको घोषणा गर्‍यो।

तृतराजले १०२ रन र इमरान ७१ रन बनाएर आउट भए। दुवैलाई युवराजले नै आउट गरेका हुन्। तृतराजले १० चौका र दुई छक्का प्रहार गरे। इमरानको इनिङमा सात चौका र दुई छक्का रह्यो तर ओपनरद्वय आउट भएपछि आर्मीका ब्याटरले ठूलो इनिङ खेल्न सकेन। बसिर २० रन र कुशल मल्ल १७ रनमा आउट भए। यो नै ठूलो व्यक्तिगत रन रह्यो। एपिएफको बलिङमा युवराजले १४ ओभरमा दुई मेडन राख्दै पाँच विकेट लिए। कप्तान रोहितको नाममा दुई विकेट रह्यो। दुईदिवसीय ढाँचामा भइरहेको जय ट्रफीमा चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

शुक्रबार सकिने लिगबाट शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ। फाइनल खेल भने तीनदिवसीय फरम्याटमा हुनेछ। अहिलेसम्म दुई खेल सकिँदा बागमती प्रदेशबाहेक तीनै विभागीय टोलीले समान एक खेल जितेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा नेपाल पुलिस क्लबले बागमतीविरुद्ध पहिलो दिनको खेल सकिँदा ६० रनको अग्रता बनाएको छ। पहिलो इनिङमा बागमती ५३.५ ओभरमा १८५ रनमा अलआउट भएको थियो। जबाफमा पुलिस ४९ ओभरमा २४५/४ को अवस्थामा छ। पहिलो दिनको खेल सकिँदा पुलिसले ६० रनको अग्रता बनाएको छ। पुलिसका ओपनर कुशल भुर्तेलले ९६ रन बनाए। मध्यक्रमका ब्याटर शंकर राना ४८ रनमा आउट भए।

कुशलले १६ चौका प्रहार गरे। शंकरको इनिङमा चार चौका र तीन छक्का रह्यो। अमित श्रेष्ठ ३९ रनमा आउट भए। दिलसाद अली ३७ रनमा र कप्तान आरिफ शेख १७ रनमा क्रिजमा छन्। बागमतीको बलिङमा ईशान पाण्डेले दुई तथा सन्दीप लामिछाने र गौतम केसीको नाममा समान एक विकेट रह्यो। त्यसअघि बागमतीका ईशान पाण्डेले सर्वाधिक ४१ रन बनाए। विपिन आचार्यले ४६ रनको इनिङ खेले।

कप्तान सन्दीप लामिछानेले १४ रन र सूर्य तामाङले २४ रन जोडे। शीर्ष क्रमका ब्याटर सस्तैमा आउट भए। पुलिसको बलिङमा करण केसीले चार विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। ललित राजवंशीले तीन तथा सागर ढकाल, रसिद खान र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो।  

प्रकाशित: १५ फाल्गुन २०८२ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App