राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा अनर्गल प्रचार भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने काम भइरहेको निष्कर्ष निकालेको हो ।
यो पनि पढ्नुहोस्
राप्रपाको समानुपातिक सूचीमा महिला विद्रोह
बैठकपछि प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरु पार्टीको वृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पंक्तिलाई हार्दिक आग्रह गर्दछ। पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको सबैमा स्मरण गराउँदछ।'
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा असन्तुष्टि जनाउँदै महिला नेतृहरु पार्टी कार्यालयमा रिले अनशन बसेका छन् ।

प्रकाशित: २५ पुस २०८२ १६:२३ शुक्रबार





