१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशलाई समर्थन गर्ने राप्रपाको निर्णय

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा दिएको सन्देशप्रति स्वागत तथा समर्थन जनाएको छ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय पदाधिकारी बैठकले राष्ट्रिय समस्याको समाधानपछि मात्र निर्वाचन प्रक्रियातर्फ जानु उपयुक्त हुने र निर्वाचनपछि द्वन्द्व तथा अस्थिरता नहोस् भन्ने सन्देश वर्तमान परिस्थितिको यथार्थ प्रतिबिम्ब भएको निष्कर्ष निकालेको हो।

चुनावी अभियानका क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले उनकै निर्देशनमा वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी, कमल थापासहित काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। 

बैठकपछि प्रवक्ता मोहनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीको नाममा दिइएको सन्देशमा व्यक्त विचारको राष्ट्रिय प्रजातन्त्र पार्टी स्वागत र समर्थन गर्दछ। "पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो" भन्ने राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो। आम जनताको चाहना नै त्यही हो।'

राप्रपाले सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गरी नयाँ समझदारी कायम गर्नुपर्ने धारणा पुनः दोहोर्‍याएको छ। यस सम्बन्धमा पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेको जानकारी पनि दिइएको छ।

निर्वाचनअघि नै राष्ट्रिय समस्याको समाधानका लागि समझदारी कायम गर्न सरकार र दलहरूसँग पुनः आग्रह गरिएको छ। साथै, पार्टीले राजाको सन्देश र आफ्ना नीतिअनुसार चुनावी अभियानमार्फत नयाँ समझदारीका लागि दबाब सिर्जना गर्न तथा आम नागरिकलाई जागरूक बनाउन आह्वान गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०८२ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App