नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित हस्ताक्षर अभियानलाई ‘अदालतको मानहानि’ को संज्ञा दिँदै यसले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन्।
आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले अदालतको आदेशमा पूर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई रिहाइको माग गर्दै हस्ताक्षर संकलन गर्नु आवेग र लहैलहैमा गरिएको अस्थिर मनोवृत्तिको उपज भएको बताए।
‘कुनै एक अभियोगमा अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा बसेका व्यक्तिलाई अन्याय भयो भनेर रिहाइको माग गर्नु भनेको सोझै अदालतको आदेशमाथि प्रश्न उठाउनु हो,’ विश्वकर्माले भने, ‘यो अदालतको मानहानि हो। अदालतको मानहानि गर्ने अधिकार कुनै पूर्वप्रधानन्यायाधीश, प्रधानमन्त्री वा नागरिकलाई हुन्छ कि हुँदैन ?’
उनले एक पूर्वप्रधानन्यायाधीशले समेत उक्त अभियानमा हस्ताक्षर गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले गलत नजिर बसाल्ने खतरा औंल्याए।
‘मैले सुनेँ, एक पूर्वप्रधानन्यायाधीशले पनि गएर अन्याय भयो भन्दै हस्ताक्षर गर्नुभएको रहेछ। अन्याय त अदालतको आदेशबाट भएको छ, त्यसो भए त उहाँले अदालतको मानहानि गर्नुभयो,’ उनले भनेक।
विश्वकर्माले हस्ताक्षरको भरमा अदालतले निर्णय गर्ने हो भने देशमा कानुनी प्रणालीको औचित्य समाप्त हुने बताए। ‘यदि हस्ताक्षरले अदालतमा चल्दै गरेको मुद्दा फिर्ता हुन्छ भने, दुर्गा प्रसाईं जेलमा छन्, बलात्कार, हत्या, डकैती र संगठित अपराधमा जेल परेकाहरूले पनि हस्ताक्षर अभियान चलाए के हुन्छ ? अनि अदालत किन चाहियो ?’ उनले भने।
उनले अदालत जनमत वा हस्ताक्षरको आधारमा नभई प्रमाणको आधारमा चल्ने स्पष्ट पारे। ‘अदालतले जनमत कमजोर भएकाले थुनेको होइन, तपाईंविरुद्ध आएका अभियोजनका प्रमाणहरू धेरै भएर थुनेको हो,’ उनले भने।
उनले रविको पक्षमा हस्ताक्षर गर्नेले इतिहासकै ठुलो गल्ती गरेको र बालबालिकालाई समेत अभियानमा प्रयोग गरिएकोमा आपत्ति जनाउँदै विश्वकर्माले भने, ‘अबोध बालबालिकालाई हस्ताक्षर गराउनेले ठूलो पाप गरेका छन्।’
उनले यस्ता आवेगपूर्ण र अस्थिर गतिविधिबाट नेपाली कांग्रेस विचलित नहुने र सधैं विधि र विधानको पक्षमा उभिने अडान व्यक्त गरे।
प्रकाशित: ११ श्रावण २०८२ १९:१६ आइतबार





