नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई ठीक ढङ्गले अगाडि बढाउने हो भने तमाम समस्याहरूको हल गर्न सकिने बताएका छन्। शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आफ्नो पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।
'समस्याहरू छन्, यी सबै समस्याहरूको हल गर्न सकिन्छ, असम्भवलाई सम्भव बनाउन सकिन्छ,' नेपालले भने, 'निराश हुनुपर्ने कुनै आवश्यकता हुँदैन, तपाईंहरू निराशा नहुनुहोस्, हिम्मत हुनेहरू अगाडि बढ्छन्। तपाईंहरू अगाडि बढ्नुस्। समस्याहरूको हल गर्न सकिन्छ। तर, त्यसका लागि कम्युनिष्ट पार्टीलाई ठीक ढङ्गले अगाडि बढाउनुपर्छ।'
उनले 'कुरामा क्रान्तिकारी, व्यवहारमा यथास्थितिवादी' हुन नहुने बताए। 'जनताका समस्याहरू के-के हुन्छ ? कमरेड मदन भण्डारीले भन्नुभएको थियो- सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो। नेपाली वास्तविकता र र यथार्थता बुझेर समस्याहरूको हल गर्नुपर्छ। तर, कुरामा क्रान्तिकारी, व्यवहारमा यथास्थितिवादी हुन हुँदैन,' उनले भनेका छन्।
प्रकाशित: २ श्रावण २०८२ १५:५४ शुक्रबार





