फागुन २१ गते निर्वाचनका दिन सवारी साधन संचालनमा कडाइ गरिने भएको छ। निर्वाचन आयोगले मतदानका दिन शान्ति, सुरक्षा र व्यवस्थित वातावरण कायम गर्न निश्चित व्यक्ति र निकायलाई मात्र सवारी संचालनका लागि अनुमतिपत्र प्रदान गरिने जनाएको छ।
आयोगका अनुसार मतदानका दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट अनुमतिपत्र प्राप्त गरेका सवारी साधन मात्र संचालन गर्न पाइएको छ।
अनुमतिपत्र प्राप्त गरी सवारी चलाउन पाउनेमा राजनीति दलको उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोगका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्र संघका नियोग, सञ्चार माध्यमका प्रतिनिधि, हवाई उडान, अध्यागमन तथा भन्सारसँग सम्बन्धित कार्यालय, विदेशी पर्यटक, अवलोकनकर्ता, अनुगमनकर्ता, साझेदार निकाय, अन्तर्राष्ट्रिय संघ–संस्था, विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य निकाय, पदाधिकारी र व्यक्ति रहेका छन्।
यद्यपि, अत्यावश्यक सेवासँग सम्बन्धित केही सवारी साधनलाई भने अनुमतिपत्र नलिई सञ्चालन गर्न पाइने आयोगले स्पष्ट पारेको छ। जसमा खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा लगायत अत्यावश्यक सेवामा खटिएका सवारी साधनले अनुमतिपत्र नलिई सञ्चालन गर्न पाउने छन्।
त्यसैगरी, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधनसमेत सोही व्यवस्था अन्तर्गत सञ्चालन गर्न पाइने जनाइएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १२:१३ आइतबार





