नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील घडीमा पार्टीभित्र देखिने अभिव्यक्ति र गतिविधिले संगठनलाई कमजोर बनाउने होइन, अझ मजबुत बनाउने दिशामा जानुपर्ने बताएका छन्। उनले पार्टीभित्रका असहमति र आलोचनालाई सार्वजनिक रूपमा तन्काउनु उपयुक्त नभएको उल्लेख गर्दै नेतृत्व र कार्यकर्ताले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका छन्।
पाण्डेले अहिले आपसी टिप्पणी र खण्डनमा अल्झिने होइन, साझा लक्ष्यतर्फ केन्द्रित हुने समय भएको स्पष्ट पारेका छन्। उनले भने, ‘निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो; यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्दछ।’
पार्टीभित्र देखिने असहमति र मतभेदलाई संस्थागत ढंगले समाधान गर्नुपर्ने धारणा राख्दै पाण्डेले आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नु राजनीतिक परिपक्वताको संकेत नहुने बताएका छन्। ‘आफ्नै सहयोद्धालाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो,’ उनले भने।
उनले पार्टी निर्णयलाई स्वीकार गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको र टिकट वितरणको ‘क्याल्कुलेसन’ पार्टी हितका लागि स्वीकार गरिएको बताए। अनावश्यक टिप्पणीले कुनै सकारात्मक अर्थ नराख्ने उनको धारणा छ।
पाण्डेले वैचारिक असहमति स्वाभाविक भए पनि त्यसलाई आधार बनाएर व्यक्तिप्रति पूर्वाग्रह राख्नु आफ्नो राजनीतिक संस्कार नभएको स्पष्ट पार्दै भने, ‘मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन।’
उनले टिप्पणी र प्रतिटिप्पणीमा समय खर्च गर्नुको सट्टा संगठन र उम्मेदवारको जितलाई पहिलो प्राथमिकता बनाएको र त्यसका लागि मैदानमै सक्रिय रहेको पनि बताए।
प्रकाशित: १० माघ २०८२ २०:२६ शनिबार





