नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा खुलेर उभिँदै वर्तमान विषम परिस्थितिको सामना गर्ने क्षमता देउवासँग मात्रै रहेको बताएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले आफूले कसैसँग सल्लाह नगरी सभापति देउवाको नाम कार्यक्रमको व्यवस्थापनमा राखेको स्पष्ट पारे। जिम्मेवारी पाएअनुसार आफूले सक्दो व्यवस्थापन गर्दै सहभागीका लागि खानाको व्यवस्था गरेको उनको भनाइ थियो।
“मैले कसैलाई पनि नसोधी सभापति शेरबहादुर देउवाको नाम राखेको हुँ। जिम्मेवारी पाएअनुसार मैले सकेको व्यवस्थापनमा खानाको व्यवस्था गरेको छु,” तामाङले भने।
उनले कांग्रेस महामन्त्री गगन थापाले आफूलाई कारबाही गरेपछि थापा पक्षको खुलेरै विरोधमा लागेको बताए। पार्टीभित्रको पछिल्लो परिस्थितिमा आफू देउवाको पक्षमा दृढ रहेको उनको भनाइ थियो।
तामाङले वर्तमान राजनीतिक तथा पार्टीगत विषम परिस्थितिको सामना गर्न देउवा नै सक्षम रहेको दाबी गरे। “अहिलेको यो विषम परिस्थितिको सामना शेरबहादुर देउवाले मात्र गर्न सक्नुहुनेछ,” उनले भने।
उनले सभापति देउवालाई गगन थापालाई ‘फिल्म देखाइदिन’ आग्रहसमेत गरे। “म शेरबहादुर देउवा ज्यूलाई आग्रह गर्छु, गगन थापालाई फिल्म देखाइदिनुहोस्,” तामाङले भने।
तामाङको उक्त अभिव्यक्ति कांग्रेसभित्र पछिल्लो समय देखिएको नेतृत्वगत विवाद र देउवा–थापा पक्षबीचको राजनीतिक ध्रुवीकरणप्रति लक्षित रहेको देखिन्छ।
प्रकाशित: २९ श्रावण २०८३ १५:२३ शुक्रबार





