नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।
उनको संयोजकत्वमा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको भेलाको उद्घाटन समारोहमा कोइरालाले पार्टीलाई एकजुट बनाउने आफ्नो कर्तव्य भएको उल्लेख गरेका हुन्।
‘कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजय गर्न सक्दैन। यही नै भेलाको मुख्य उद्देश्य हो’, उनले भने। उनले बिहीबार मात्र पाँच महिनापछि स्वस्थ्योपचार गरी स्वदेश फर्किएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले भेला सफल भएको दाबी समेत गरेका थिए।
नेता कोइरालाले पूर्वप्रधानमन्त्री देउवासँग भारतको बनारसमा पहिलो पटक भएको भेट र सँगै सिनेमा हेरेको प्रसंग स्मरण गरे। उनले निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको र उनकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा व्यक्त गरेका छन्। कांग्रेसको संस्थापनइतरपक्षको तीन दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु भएको हो।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेलामा सयौँ नेता कार्यकर्ताको उपस्थिति छ। प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार शनिबार र आइतबार बन्दसत्र चल्नेछ।
प्रकाशित: २९ श्रावण २०८३ १६:१७ शुक्रबार





