२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन-जी माथिको दमन इतिहासकै क्रूर घटना, सरकार विघटन गर: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन-जी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको बर्बर दमन र अत्यधिक बल प्रयोगलाई नेपाली इतिहासकै क्रूर र दुःखद घटना भनेको छ।

सोमबार भएको हिंसात्मक घटनापछि पार्टीले वर्तमान सरकारको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै तत्काल सरकार विघटन गरी नयाँ समझदारीका लागि आह्वान गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका नयाँ पुस्तामाथि अन्धाधुन्ध गोली प्रहार गरेर सरकारले आवाज निमिट्यान्न पार्ने लाजमर्दो प्रयास गरेको उल्लेख छ।

‘शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

राप्रपाले प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। साथै, घाइते भएका प्रदर्शनकारी र समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

राप्रपाले आजको युवा आन्दोलन २०६२/६३ पछिको व्यवस्थाले जन्माएको उपज भएको टिप्पणी गरेको छ। ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको व्यवस्थाले युवाको समस्या समाधान गर्न सक्दैन भन्दै विगत दुई दशकदेखि संसद र सडकबाट आवाज उठाउँदै आएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘आज युवामाथि भएको राज्यको क्रूर दमनले अब फेरि निर्णायक आन्दोलन नगरे युवा पुस्ताले थप दुःख पाउने निश्चित छ।’

गत चैत्र १५ गते काठमाडौंमा भएको प्रदर्शनमा भएको दमनमा सरकारले उन्मुक्ति पाउँदा आजको घटनाका लागि थप हौसिएको राप्रपाको ठहर छ।

पार्टीले जेन-जी पुस्ताले अघि सारेका सुशासन, प्रविधि र अन्य समग्र मुद्दाहरूमा आफ्नो पूर्ण साथ, समर्थन र ऐक्यबद्धता रहेको स्पष्ट पारेको छ।

प्रकाशित: २३ भाद्र २०८२ २१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App