६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

छिटो र छोटो बाटोबाट नियमित महाधिवेशन गर्नुपर्छः प्रदिप पौडेल

आम निर्वाचन र पार्टीको महाधिवेशनको तयारी एकैसाथ गर्न नसकिने कंग्रेसका सस्थापन पक्षले बताउँदै गर्दा डा. शेखर कोइरालासहितका नेताहरू भने मंसिरभित्रै पार्टीको नियमित महाधिवेशनको पक्षमा छन्।

बदलिएको परिस्थितिमा नयाँ नीति र नेतासहित निर्वाचनमा जानुपर्ने तर्क गर्दै उनीहरूले आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्। डा. कोइरालाले कांग्रेस अघिल्लो केन्द्रीय समिति बैठकमै क्रियाशील सदस्यता वितरण र नवीकरणमा भएको विलम्ब र महाधिवेशन कार्यतालिका नल्याएकोमा असन्तुष्टि जनाएका थिए।

 जारी केन्द्रीय समितिको बैठकमा पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने र त्यसको तयारीसहितको प्रस्ताव ल्याउन पदाधिकारीलाई आग्रह गरेका थिए। केन्द्रीय सदस्य प्रदीप पौडेलले पुसको दोस्रो साता १५औं महाधिवेशन गर्ने गरी बैठकमा कार्यतालिका नै पेस गरेका छन्।

पार्टी सभापति देउवानिकट नेताहरूले भनेजस्तो निर्वाचनपछि महाधिवेशन गर्ने र महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भनेजस्तो मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनबाट केन्द्रीय नेतृत्व मात्र परिवर्तनको विपक्षमा उनीहरू देखिएका छन्। निर्वाचनपछि महाधिवेशन र विशेष महाधिवेशनको समाधान नियमित महाधिवेशन भएको जनाउँदै केन्द्रीय सदस्य प्रदिप पौडेलले भने, ‘छिटो र छोटो बाटाबाटे नियमित महाधिवेशन गर्नुपर्छ। त्यसबाट नेता मात्र होइन, पार्टीका केही नीति पनि सुधारेर जान सकिन्छ।’

अहिलेकै नेतृत्व बोकेर निर्वाचनमा जाँदा जनतामा मात्र होइन नेता तथा कार्यकर्तामा पनि ऊर्जा नहुने र जनतालाई आकर्षित गर्न पनि नसकिने पौडेलको बुझाइ छ। महाधिवेशनले वडा तहदेखि केन्द्रसम्मै रूपान्तरण गर्ने जनाउँदै उनले भने, ‘कार्यकाल बाँकी रहेका प्रतिस्पर्धी दलहरू मंसिरमा महाधिवेशन गरेर चुनावको तयारीमा जुटिसके। कार्यकाल सकिन थालेको कांग्रेस अहिलेकै अवस्थामा निर्वाचनमा जान सुहाउने कुरा होइन र हुँदैन।’

बोझिलो बनेको संघीयतालाई छिटो र छरितो बनाउने, निर्वाचनमा जाँदा नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नेजस्ता नीतिगत निर्णयका लागि पनि चुनावअघि महाधिवेशन आवश्यक रहेको पौडेलको बुझाइ छ। देशभरिका पार्टीका नेता तथा कार्यकर्ताको भावना र चाहना पनि नियमित महाधिवेशन होस् भन्ने रहेको जनाउँदै उनले भने, ‘विधानको व्यवस्थाअनुसार हस्ताक्षर गर्ने वा नगर्ने पार्टीका नेता तथा कार्यकर्ताको भावनालाई सम्मान गर्नुपर्छ र नियमित महाधिवेशन तत्काल गर्नेगरी कार्यतालिका ल्याउनुपर्छ।’

प्रकाशित: ११ कार्तिक २०८२ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App