नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीमा फर्किएका नेता तथा कार्यकर्ताहरूलाई महाधिवेशनमा सम्मानजनक स्थान दिने गरी ‘रेड कार्पेट’ बिछ्याएको छ।
बिहीबार बसेको पार्टीको ६०औँ सचिवालय बैठकले ‘घर फर्क अभियान’ अन्तर्गत एमालेमा समाहित भएका नेताहरूलाई विशेष व्यवस्था गर्दै महाधिवेशन प्रतिनिधि बन्ने बाटो खुला गरिदिएको हो।
बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले अन्य पार्टी वा समूह छाडेर एमालेमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको जानकारी दिए।
‘घर फर्क अभियान अन्तर्गत विभिन्न वामपन्थी समूहबाट पार्टीमा आबद्ध हुनुभएका व्यक्तिहरूमध्ये, तत्–तत् समूहको केन्द्रीय समितिमा रहनुभएका साथीहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ,’ ज्ञवालीले भने।
यस निर्णयसँगै नेकपा एकीकृत समाजवादी लगायत अन्य दल छाडेर एमाले फर्किएका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू तल्लो तहबाट चुनाव नलडी सोझै महाधिवेशन प्रतिनिधि बन्न पाउने भएका छन्।
प्रकाशित: ४ मंसिर २०८२ २१:४० बिहीबार





