श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदमा प्रतिपक्षका प्रश्नको खरो जवाफ दिन सक्ने क्षमता लामिछानेमा रहेकाले उनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने तर्क गरेका हुन्।
‘संसदमा प्रतिपक्षले धेरै प्रश्नहरू गर्छन्, त्यसको उत्तर दिन र बोल्न सक्ने मान्छे प्रधानमन्त्री हुँदा बेस हुन्छ,’ साम्पाङले भने।
जनताका प्रश्नको उत्तर बिस्तारमा बुझाउन सक्ने र समय दिन सक्ने व्यक्ति नै अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
निर्वाचनअघि आफैँ प्रधानमन्त्री बन्छु भन्दै हिँडेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा साम्पाङले निर्वाचनका बेला सबैले त्यस्तै दाबी गर्ने गरेको प्रस्टीकरण दिए।
‘चुनावमा सबैले त्यही भनेका थिए, तर जनताले जसलाई चुन्छन् त्यही हुने हो,’ उनले भने, ‘जनताको निर्णयभन्दा ठूलो मेरो बोली होइन।’
राष्ट्रिय मुद्दाहरूको सन्दर्भमा साम्पाङले दार्चुला सीमा विवाद र एमसीसीबारे पनि प्रतिक्रिया जनाए।
नेपालको भूगोलभित्र छिमेकी राष्ट्रले कुनै पनि अनधिकृत संरचना बनाउन नपाउने भन्दै उनले सीमा रक्षाको पक्षमा उभिने स्पष्ट पारे।
साथै, आगामी संसद बैठकमा एमसीसी खारेजको विषयलाई प्रस्तावका रूपमा अघि बढाउने उनले बताए।
आफ्नो श्रम संस्कृति अभियानलाई सिंहदरबारसम्म पुर्याउने संकल्पबारे बोल्दै उनले देश बनाउन श्रम अनिवार्य रहेकोमा जोड दिए।
यद्यपि, काम गर्ने म्यान्डेट जनताले अरूलाई नै दिएको भन्दै उनले सुनाए, ‘काम गर्ने औजार अर्कै पार्टीलाई दिइएको छ, औजारविना काम कसरी गर्ने ? तर पनि सिंहदरबारभित्र श्रम संस्कृति भने चलाउनैपर्छ।’
प्रकाशित: १० चैत्र २०८२ १७:०९ मंगलबार





