राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई अभिव्यक्ति दिँदा र राजनीतिक लाइन तय गर्दा सचेत रहन निर्देशन दिएका छन्।
आइतबार आयोजित दुई दिने संसदीय प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र ‘रवि कि बालेन’ भन्ने द्विविधामा लागेर गुटबन्दी नगर्न चेतावनी दिएका हुन्।
सभापति लामिछानेले कतिपय सांसदहरूले दोधारे चरित्र देखाएकै कारण मन्त्री बन्ने अवसर गुमाएको खुलासा समेत गरे। ‘कहिलेकाहीँ बालेन–रवि, रवि–बालेन, म यताको र उताको भन्ने कुरा गरिन्छ,’ उनले भने, ‘म यताको हो कि उताको हो भनेर हेरेका कारणले मन्त्री नभएका साथीहरू पनि यहाँ हुनुहुन्छ। यस्तो झुण्ड र समूहमा विश्वास नगर्न म अनुरोध गर्दछु।’
उनले अन्तर्वार्ता दिँदा वा सामाजिक सञ्जालमा लेख्दा पार्टीको आधिकारिक लाइनभन्दा बाहिर नजान र विवादित नबन्न सांसदहरूलाई सचेत गराए। यता र उताको भन्दै हिँडे अर्को निर्वाचनमा पार्टीले टिकट नदिने समेत उनले स्पष्ट पारे।
‘हामी राजनीतिक रूपमा परिपक्व भइसकेका छौं,’ लामिछानेले थपे, ‘कसैलाई रहर लागेर मिडियाका साथीहरू यिनीहरू फुट्छन् कि भनेर मुख मिठ्याउनुहुन्छ भने त्यो व्यर्थ छ। हामीबीच फुटको कुनै गुञ्जायस छैन।’
आफू र प्रधानमन्त्रीबीचको सम्बन्ध सुमधुर रहेको सुनाउँदै उनले बाहिर चल्ने हल्लालाई दुवैले ठट्टाको विषय बनाउने गरेको बताए। ‘प्रधानमन्त्रीजी र म बाहिरका कुरा सुनेर सँगै हाँस्छौं,’ उनले भने, ‘फलानोले यसो भन्यो भन्ने हामीलाई सबै थाहा हुन्छ, हामी यस्ता कुरामा छलफल समेत गर्छौं।’
प्रशिक्षणका क्रममा सभापति लामिछानेले पार्टीमा पुर्याएको योगदानको मूल्य खोज्ने समय अझै नभएको टिप्पणी गरे। उनले मन्त्री वा संसदीय समितिको सभापति नपाएकोमा चित्त नदुखाउन आग्रह गर्दै सांसदका रूपमा कानुन निर्माणमा गर्ने योगदान मन्त्रीको भन्दा बढी हुने तर्क गरे।
‘यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन,’ उनले भने, ‘योगदान त अब दिने हो। मन्त्री भएर सामाजिक प्रतिष्ठालाई मात्रै सफलताको सूचक मान्नु गलत हो।’
प्रकाशित: २७ वैशाख २०८३ १५:४५ आइतबार





