राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासीहरूलाई कसैले पनि घरबारविहीन नबनाउने बताएका छन्।
संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै लामिछानेले जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु सरकारको मुख्य दायित्व भएको बताएका हुन्।
सभापति लामिछानेले सुकुम्बासी समस्या समाधानका लागि देशैभरि एक विशेष आयोग बनाएर शीघ्र काम थालिने जानकारी दिए।
बाढी र ढलको जोखिममा रहेका नागरिकलाई सुरक्षित बासस्थान उपलब्ध गराउनु सरकारको कर्तव्य भएको उल्लेख गर्दै उनले कसैलाई पनि विकल्पविहीन अवस्थामा नछाडिने प्रतिबद्धता जनाए।
‘सरकारले घरबारविहीन सबै नागरिकको गाँस, बास, कपास र रोजगारीको अवसरबारे पूर्ण जिम्मेवारी लिन्छ,’ लामिछानेले भने, ‘अनावश्यक राजनीतिकरण गरेर कसैलाई बाढी र ढलको छेउमा बस्न बाध्य बनाउँदै भोट बैंकको राजनीति गर्नु गलत हो।’
उनले यस्तो प्रवृत्तिको अब अन्त्य हुने दाबी समेत गरे। उनले हाल जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई पटक–पटक सूचना दिएरै सुरक्षित र सरल तरिकाले स्थानान्तरण गरिएको जानकारी दिए।
सरकारले हाल लगत संकलन र व्यवस्थापनमा गम्भीरतापूर्वक काम गरिरहेको बताउँदै उनले यस प्रक्रियामा थप सजकता आवश्यक भए ध्यानाकर्षण गराउन समेत सांसदहरूलाई आग्रह गरे।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा सभापति लामिछानेले सुकुम्बासी व्यवस्थापनमा कुनै पनि प्रकारको कमजोरी हुन नदिन र वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको भविष्य सुनिश्चित गर्न निर्देशन दिएका छन्।
उनले यस विषयमा गरिने आवश्यक समन्वयका लागि सुझावहरू सधैँ स्वागतयोग्य रहने समेत बताए।
प्रकाशित: १६ वैशाख २०८३ १५:१६ बुधबार





