२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

नख्खु कारागार प्रकरणमा रवि लामिछानेको स्पष्टीकरण: ‘म जबरजस्ती बाहिर निकालिएको हुँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नख्खु कारागारबाट निस्किएको विषयमा उठेको आलोचनापछि थप स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफू कारागारबाट स्वेच्छाले नभई जबरजस्ती बाहिर निकालिएको बताएका छन्।

लामिछानेले भने, ‘कारागारबाट मैले निस्कन चाहेको होइन। भीड बढेपछि कारागारले जबरजस्ती बाहिर निकालेको हो। म विना पत्र जान्न भनेको हुँ।’ उनका अनुसार यसबारे कारागार प्रशासनले दिएको पत्र समेत सार्वजनिक गरिसकेका छन्।

उनले सुरक्षा निकायका प्रमुखसँग सम्पर्क गरेको दाबी गर्दै भने, ‘मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई भनिसकेको छु, मलाई नियन्त्रणमा लिनुहोस् वा कारागार पठाउनुहोस्। तर उहाँहरूले आफैं सुरक्षित बस्न भने।’

लामिछानेले आफू कुनै सरकार बनाउन वा राजनीतिक दौडमा नरहेको स्पष्ट पारे। उनले भने, ‘म यो रेसमा छैन। मलाई कुनै राजनीतिक लाभ चाहिएको छैन। तर लोकतन्त्र, नागरिक सर्वोच्चता, मानवअधिकार र सुशासनमा म दह्रोसंग उभिन्छु।’

उनले यो आन्दोलन जेन–जेडको भएको पनि दोहोर्‍याए। झुठा मुद्दा अझै खेलाइरहेको भन्दै उनले आफू कानुनी प्रक्रियाबाटै अघि बढ्ने बताए।

‘जनताले ओली–देउवालाई खेदे तर तिनले लगाएको झुठो मुद्दा अझै मेरो टाउकोमा छ,’ उनले भने, ‘सुरक्षा दिन नसक्ने निकायले आफैं सुरक्षित बस भन्छ, कारागारले बाहिर निकाल्छ। यस्तो अवस्थामा के म बाँच्न पाउने कि नपाउने भन्ने प्रश्न छ।’

लामिछानेले अन्त्यमा भने, ‘यो देश रहनुपर्छ। स्वाधीन, स्वाभिमानी र सार्वभौम रहनुपर्छ। नागरिक सर्वोच्चता कायम रहनुपर्छ।’

प्रकाशित: २५ भाद्र २०८२ १९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App