१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

रौतहट: मतदाता रिझाउन ‘कसरत’ गर्दै नयाँ अनुहार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटको राजनीतिक माहोल यतिबेला निकै तातेको छ।

बदलिँदो राजनीतिक परिस्थिति र मतदाताको परिवर्तनको चाहनालाई मध्यनजर गर्दै यसपटक पुराना स्थापित दलदेखि भर्खरै उदाएका नयाँ शक्तिहरूले समेत चुनावी मैदानमा नयाँ अनुहारलाई परीक्षणका लागि उतारेका छन्।

जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका यी नयाँ अनुहारहरू यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन्।

लामो समयदेखि राजनीतिमा जमेका दलहरूले पनि यसपटक नयाँ पुस्ता र नयाँ विचार बोकेका उम्मेदवारलाई अघि सार्दा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।

मतदाताको नाडी छाम्दै प्रचारप्रसारमा होमिएका उम्मेदवारहरूले भने मैदानमा सोचेभन्दा फरक अनुभव र चुनौतीको सामना गरिरहेको प्रतिक्रिया दिएका छन्।

रौतहट निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपा (एमाले) ले यसपटक नयाँ अनुहारका रूपमा महम्द अतिउल्लाहलाई अघि सारेको छ।

पहिलो पटक उम्मेदवार बनेका अतिउल्लाहले मतदातासँगको भेटघाटमा भौतिक पूर्वाधार विकास मात्र नभई वातावरणीय संरक्षणको मुद्दा पनि पेचिलो बनेको पाएका छन्।

उनी भन्छन्, ‘विकास भनेको सडक नाला मात्र होइन रहेछ, सर्वसाधारणले वातावरण संरक्षणमा पनि गहिरो चासो देखाएका छन्। यदि म निर्वाचित भएँ भने हरेक वडामा स्थायी नर्सरी स्थापना गर्ने योजना बनाएको छु।’

यसै क्षेत्रमा जनमत पार्टीका तर्फबाट पहिलो पटक चुनावी मैदानमा उत्रिएका सोनु कुशवाहाको अनुभव भने अलि फरक छ।

उनले रौतहटको शैक्षिक अवस्था र किसानको पीडालाई प्रमुख मुद्दा बनाएका छन्। ‘शिक्षाको दयनीय अवस्थालाई सुधार गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,’ कुशवाहाले भने, ‘वर्षौंदेखि कृषकहरू अनगिन्ती समस्यामा जेलिएका छन्, तर कतैबाट सुनुवाइ भएको छैन। म किसानको आवाज बनेर काम गर्नेछु।’

रौतहट क्षेत्र नम्बर-३ मा पनि नयाँ उम्मेदवारहरूकै चर्चा छ। नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी पुनम यादव दिनरात घरदैलो अभियानमा सक्रिय छिन्।

मतदाताको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताउँदै उनले भनिन्, ‘जनताको माग हामीले सोचेभन्दा फरक र आधारभूत रहेछ। मतदाताहरू ठूला भाषणभन्दा पनि आफ्नो पहुँचमा रहने र सुखदुःखमा साथ दिने नेताको खोजीमा छन्। म जनता र नेताबीचको बढेको दूरी घटाउन पुलको काम गर्नेछु।’

यही क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राम कृपाल यादवले जनताले विकाससँगै शान्ति सुरक्षा र रोजगारीको ग्यारेन्टी खोजेको बताए।

उनले अब परम्परागत शैलीले राजनीति नचल्ने भन्दै भने, ‘नागरिकको प्रश्नको सिधा जवाफ दिन सक्ने र पारदर्शी नेता मात्र अब जनतामा टिक्न सक्छन्। मेरो उम्मेदवारी युवाहरूको भविष्य र सुरक्षित समाजका लागि हो।’

सबैभन्दा धेरै नयाँ अनुहार र रोचक प्रतिस्पर्धा क्षेत्र नम्बर-४ मा देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पहिलो पटक उम्मेदवार बनेका गणेश पौडेलले युवापुस्तामा परिवर्तनको तीव्र भोक रहेको बताए।

पुराना आश्वासन र भ्रष्टाचारबाट आजित भएका कारण जनताले यसपटक विकल्प खोजेको उनको दाबी छ। ‘परिवर्तनको दिन नजिक आइसकेको छ, युवा समुदायले मलाई गरेको अपार समर्थनले पनि यही संकेत गर्छ,’ पौडेलले भने।

यता, नेकपा (एमाले) बाटै पहिलो पटक टिकट पाएका रामजी साह सोनार पनि प्रचारप्रसारमा आक्रामक देखिएका छन्। जनता नै भगवान् भएको बताउने साहले आफूलाई सबै वर्ग, क्षेत्र र समुदायको भरोसा प्राप्त भएको दाबी गरे।

‘यसपटक जनताले शासक होइन, सेवक खोजेका छन्। विकासप्रेमी नेताका रूपमा मलाई मतदाताले साथ दिनेमा म विश्वस्त छु,’ उनले भने।

यसैगरी, आम जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका चर्चित पत्रकार ऋषि धमलाले पनि रौतहटको विकासमा कायापलट गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन्।

अति पछाडि परेको रौतहटलाई माथि उकास्न शिक्षा, स्वास्थ्य र चेतनाको विकास अपरिहार्य रहेको उनको भनाइ छ। धमलाले प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘म यहाँ उद्योग कलकारखाना खोल्न र दातृ निकायलाई गुहारेर भए पनि रौतहटलाई विकासको मूल धारमा ल्याउन समर्पित हुनेछु। यदि जनताले मलाई निर्वाचित गरे भने जिल्लाको मुहार फेर्न कुनै कसर बाँकी राख्दिनँ।’

क्षेत्र नम्बर ४ मै जसपा नेपालका तर्फबाट उम्मेदवार बनेका राज कुमार दास तत्माले आफूलाई ‘हेभीवेट’ उम्मेदवारको दाबी गरेका छन्।

सधैं एउटै समुदायको मात्र प्रतिनिधित्व हुने परम्परालाई तोड्न जनता आतुर रहेको उनको जिकिर छ। ‘मेरो क्षेत्रमा ८० प्रतिशतभन्दा बढी मतदाताको साथ मलाई छ,’ दासले भने, ‘म समाजको सबैभन्दा पछाडि पारिएको वर्गको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गर्ने तयारीमा छु।’

समग्रमा, रौतहटका मतदाता यसपटक परम्परागत अनुहारभन्दा नयाँ जोस, जाँगर र स्पष्ट भिजन भएका उम्मेदवारलाई चुन्ने मुडमा देखिएका छन्। फागुन २१ गतेको नतिजाले नै यी नयाँ अनुहारहरूको भविष्य र रौतहटको राजनीतिक दिशा तय गर्नेछ।

प्रकाशित: १७ माघ २०८२ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App