३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका–१ बाट जनसंवाद यात्रा शुभारम्भ गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित जनसंवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद थालिएको बताए।

जनसंवादको पहिलो दिन प्रतिनिधिसभा सदस्य बोहरासहित रास्वपाका नेताहरूले शुक्लाफाँटा नगरपालिका–१ बन्साह र वडा नं १२ कालागौडी क्षेत्रका नागरिकसित भेटघाटका साथै संवाद गरेका छन्।

'हामी जवाफदेही छौँ, मत माग्न आउँदा जनताले जितेर फर्किँदैनन् कि भन्दै आशङ्का गरे,' उनले भने, 'हामी अरु नेताजस्ता होइनौँ, हामी आउँछौँ। छ–छ महिनामा त सार्वजनिक सुनुवाइ गर्ने पनि भनेका छौँ।'

जनताप्रति उत्तरदायी भएर काम गर्ने बताउँदै सांसद बोहराले नागरिकका गुनासा सुन्न हरेक वडास्तरसम्म जाने बताए। 'वडा तहका कामलाई प्राथमिकता दिएर जनताको समस्या समाधानका लागि सक्रिय रहन्छौँ,' उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिका सभापति हरिश धामीले जनसंवाद निरन्तर अघि बढ्ने बताए। जनसंवाद यात्रामार्फत स्थानीय समस्या र समाधानका विषयमा छलफल भइरहेको उनको भनाइ छ। जनसंवाद शुभारम्भ कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, सुदूरपश्चिम प्रदेशका प्रवक्ता तेज ठकुल्ला, जिल्ला सचिव राकेश चन्द, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गणेश खड्कालगायत नेता सहभागी थिए।

प्रकाशित: ३ श्रावण २०८३ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App