बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई तत्काल जोड्न नुवाकोट र रसुवाको सीमास्थित फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ।
पूर्वाधार विकास मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित रसुवालाई भरपर्दो र द्रुत वैकल्पिक मार्गमार्फत जोड्न यो कदम चालेको हो।
मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका-२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका-५, वहाखोला जोड्ने गरी फलाँखु खोलामा बेलीब्रिज निर्माण गर्न लागिएको हो।
सम्बन्धित पालिकाका अध्यक्षहरूबाट आएको अनुरोधका आधारमा मन्त्रालयले निर्माणका लागि आवश्यक निर्देशन तथा सहजीकरण गरिसकेको छ।
यो बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग तयार हुनेछ। नयाँ मार्ग बनेपछि फलाँखु खोलाबाट नुवाकोटको विदुर करिब २३ किलोमिटर र रसुवाको धुन्चे करिब ३५ किलोमिटरको दूरीमा छोटिनेछ।
हाल सडक सम्पर्क टुटेका कारण रसुवामा सर्वसाधारणको आवतजावत र दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भइरहेको छ। नयाँ वैकल्पिक सडकले सो क्षेत्रको अवरुद्ध यातायात सहज बनाउने अपेक्षा छ।
प्रकाशित: ३० भाद्र २०८३ १५:१७ मंगलबार


-600x400.jpg)

-600x400.jpg)
