३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन निर्वाचनमा कडाइ : प्रचारमा टोपीदेखि सवारीसाधनसम्म रोक

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको निर्वाचनलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन नयाँ ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको निर्वाचन प्रक्रिया, उम्मेदवारी, प्रचारप्रसार र मतगणनासम्बन्धी व्यवस्था स्पष्ट गरेको छ।

निर्देशिकाले महाधिवेशनमा सहभागी उम्मेदवारका लागि कडा आचारसंहिता लागू गरेको छ। निर्वाचन प्रचारका क्रममा जुलुस, कोणसभा तथा अन्य कार्यक्रम गर्दा अनुशासन र मर्यादा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवारले आफ्नो नाम वा चुनाव चिह्न अंकित टोपी, भेस्ट, ज्याकेट, मास्कलगायतका प्रचार सामग्री प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। सार्वजनिक स्थानमा होहल्ला गर्ने, निर्वाचन प्रयोजनका लागि सवारीसाधनको दुरुपयोग गर्ने तथा बालबालिकालाई निर्वाचन गतिविधिमा सहभागी गराउने कामसमेत निषेध गरिएको छ।

निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली

कांग्रेसले यसपटक महाधिवेशन निर्वाचनलाई प्रविधिमैत्री बनाउने प्रयास गरेको छ। उम्मेदवारी दर्ता शुल्क भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिएको छ।

त्यस्तै, निर्वाचन परिणाम वेबसाइटमा प्रविष्ट गर्ने तथा डिजिटल माध्यमबाट मतदाता नामावली सच्याउने व्यवस्थाले निर्वाचन प्रक्रिया थप छिटो र पारदर्शी हुने कांग्रेसको विश्वास छ।

निर्देशिकामा संविधान र पार्टी विधानअनुसार समावेशी प्रतिनिधित्वलाई समेत प्राथमिकता दिइएको छ। दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु तथा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी विभिन्न तहमा समावेशी सिटको व्यवस्था गरिएको छ।

पिछडिएको क्षेत्रका रूपमा हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, पश्चिम रुकुम, सल्यान, दैलेख, सुर्खेत, जाजरकोट, बाजुरा, बझाङ र अछामलाई समेत विशेष प्रतिनिधित्वको व्यवस्था गरिएको छ।

सभापतिका लागि ४० हजार उम्मेदवारी शुल्क

निर्देशिकाले गाउँ/नगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला, प्रदेश तथा केन्द्रीय तहको निर्वाचन सञ्चालन गर्ने निर्वाचन अधिकृत र मतदान अधिकृतको जिम्मेवारीसमेत स्पष्ट पारेको छ।

विभिन्न तहका निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको ढाँचा निर्धारण गरिएको छ भने निर्वाचनमा खटिने पदाधिकारी तथा सदस्यले प्रतिज्ञापत्र पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

महाधिवेशनका विभिन्न पदमा उम्मेदवार बन्न आवश्यक न्यूनतम योग्यता र उम्मेदवारी शुल्कसमेत निर्देशिकामै तोकिएको छ। केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।

नयाँ निर्देशिकाले कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियालाई नियमबद्ध बनाउँदै प्रचारप्रसारदेखि मतपरिणाम सार्वजनिक गर्ने प्रक्रियासम्मलाई थप व्यवस्थित गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: ३० भाद्र २०८३ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App