२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

राजीनामाको मुडमा रामहरि, शीर्ष नेतासँग परामर्श गर्दै

निजामती कर्मचारी सम्बन्धी विधेयकको ‘कुलिङ अफ पिरियड’ किर्ते विवादमा परेपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा पदबाट राजीनामा दिने मनसायमा पुगेका छन्। संसदीय छानबिन समितिको प्रतिवेदनले सभापति खतिवडामाथि ‘कुलिङ किर्ते’मा ‘नैतिक प्रश्न’ उठाएपछि राजीनामाको ‘मुड’मा पुगेको स्रोतले बतायो। 

खतिवडाले आफ्नो गल्ती नभएको, संसदीय समितिले पनि दोषी किटान नगरेको अवस्था भए पनि ‘नैतिक प्रश्न’ भने उठाएकाले राजीनामा दिने मनसायमा पुगेको एक निकटस्थ कांग्रेस नेताले बताए। 

‘उहाँ आफै कुलिङ अफ पिरियडको पक्षधर रहेको, त्यसमा आफ्नो गल्ती नभएको भए पनि आफैले मागेको संसदीय छानबिन समितिले नैतिक प्रश्न उठाएपछि राजीनामा दिनुपर्छ भन्ने मुडमा हुनुहुन्छ,’ निकट नेताले भने, ‘देशमा नैतिकताको खडेरी रहेका बेला नैतिक प्रश्न उठिसकेपछि बाहिरिनु उत्तम हुन्छ भन्ने उहाँको बुझाइ छ।’ 

राजीनामाको मुडमा पुगिसकेपछि खतिवडाले पार्टीका शीर्ष नेतासँग छलफल पनि गरिरहेको स्रोतले बतायो। ‘उहाँले सभापति(शेरबहादुर देउवा), महामन्त्री द्वय(गगन थापा र विश्वप्रकाश शर्मा)सँग छलफल परामर्श पनि गरिसक्नुभएको छ,’ ती नेताले भने। 

खतिवडाले यसअघि नै नैतिक रूपमा पद छाडिसकेको पनि ती नेताले बताए। ‘समिति बनेदेखि समिति जानुभएको छैन, गाडी फिर्ता गरिसक्नुभयो,’ उनले भने। 

पार्टी नेतासँगको परामर्शपछि अब बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर राजीनामा खतिवडाले राजीनामा दिन सक्ने स्रोतले बतायो। 

उता खतिवडामाथि नैतिक प्रश्न उठेपछि शुक्रबार बिहानै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री द्वय थापा र शर्मालाई राखेर छलफल पनि गरेका छन्। 

यसअघि प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती कर्मचारी विधेयकमा राखिएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा छेडखानी भएपछि छानबिन गर्न कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा संसदीय समिति गठन भएको थियो। जसको प्रतिवेदनले खतिवडामाथि पनि नैतिक प्रश्न उठाइएको छ। 

प्रकाशित: २३ श्रावण २०८२ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App