पूर्व पञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा भित्रभित्रै उकुसमुकुस रहेको विवाद सतहमा आएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध असन्तुष्ट समूह आइतबार निर्वाचन आयोगमा उजुरी दिन पुगेको छ।
पार्टीको अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहित पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायतका नेता निर्वाचन आयोग पुगेका हुन्।
आफू पार्टीभित्र भएको अन्याय विरुद्ध आवाज उठाउन निर्वाचन आयोग पुगेको सुवेदीले बताए। आफूहरुको यो कदम पार्टी विभाजनका लागि नभएको पनि उनले प्रतिक्रिया दिए।
यस्तै पूर्व अध्यक्ष लोहनीले पार्टीभित्र न्याय भएमात्रै पार्टी बलियो हुनसक्ने बताए। ‘जब पार्टीभित्र न्याय हुन्छ नि त्यतिबेला पार्टी बलियो हुन्छ। यो हामी जे गरिरहेका छौँ पार्टी बलियो बनाउन गरिरहेका छौँ,’ लोहनीले भने।
यसअघि असन्तुष्ट समूहले शनिबार नक्सालस्थित महामन्त्री राणाको सम्पर्क कार्यालयमा छुट्टै भेला समेत आयोजना गरेका थिए।
प्रकाशित: २९ असार २०८२ १२:१६ आइतबार





