काठमाडौं महानगरपालिकाका नगरसभा सदस्य सन्तोष ढुङ्गेलले मेयर बालेन्द्र शाह (बालेन) ले दिएका आश्वासनहरू बोलीमा मात्र सीमित भएको भन्दै आलोचना गरेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा बसेको नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले मेयर शाहलाई आफ्ना पुराना वाचाहरू पूरा गर्न ध्यानाकर्षण गराए।
सदस्य ढुङ्गेलले १६औं अधिवेशनमा मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहको सालिक बनाउने भनी गरेको वाचा स्मरण गराउँदै प्रश्न गरे, ‘बोल्ने मात्र हो कि काम पनि गर्ने हो ? त्यो वाचा बोलीमै सीमित रह्यो मेयर साप।’
उनले महानगरको भवन निर्माण मापदण्डमाथि पनि गम्भीर प्रश्न उठाए। कोर सिटीमा ‘मैत्री भवन’ का लागि ढुंगा-माटोको प्रयोग गर्न दिने तर आर्थिक अवस्था कमजोर भएका नगरवासीले आफ्नो परम्परागत घर बनाउन खोज्दा नक्सा पास नै नहुने नीति विभेदकारी भएको उनको भनाइ थियो।
‘के काठमाडौंका सबै बासिन्दा धनी छन् ? पैसा नहुनेले १० लाखमा ढुंगा-माटोको घर बनाएर बस्छु भन्दा नक्सा पास हुँदैन,’ उनले भने, ‘हाम्रा अमूर्त सम्पदाहरू सबै ढुंगा-माटोले बनेका छन्। गरिब जनताका लागि ढुंगा-माटोको घर बनाउने प्रावधान किन नल्याउने ?’
त्यसैगरी, महानगरको शिक्षा नीतिमाथि टिप्पणी गर्दै उनले विदेशी संस्कृति र संरचना पढाउने तर आफ्नै देशका विभूति र सम्पदाबारे नपढाउने प्रवृत्तिको आलोचना गरे।
उनले भने, ‘हामी असार २९ गते भानुभक्तलाई सम्झँदैनौँ तर ‘बुक फ्री फ्राइडे’ मनाउँछौँ। हाम्रा विद्यार्थीलाई ५५ झ्याले दरबार कहाँ छ भनेर सोध्यो भने थाहा हुँदैन। हाम्रो माटो र सम्पदाबारे पढाउन सुरु गरियोस्।’
प्रकाशित: ३२ असार २०८२ १८:५९ बुधबार


-600x400.jpg)


