पोखरा महानगरपालिकाले बुधबार ६७ औं स्थापना दिवस मनाएको छ । महानगरले नगरपालिका स्थापना भएको पुस २ गतेलाई मानेर बुधबार विविध कार्यक्रमसहित स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा विहान प्रभातफेरी निकालियो । पोखरा मानवअधिकार चोकबाट शुरु भएको जातिय पहिचानसहितको सांस्कृतिक झाँकीसहितको र्याली न्यूरोडहुँदै पोखरा सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।
सो अवसरमा पोखराको गौरवको रुपमा रहेका नौं जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरियो । पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई नगद २ लाख २ हजार २ सय २ सहित पदक, ताम्रपत्र र दोषल्ला ओढाएर पोखरा रत्न सम्मानबाट सम्मानित गरिएको हो । जसमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा.बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित भए । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्मान गरेका थिए ।
पोखरेली नवरत्न बनेका तीर्थ श्रेष्ठको साहित्यिक क्षेत्रमा अतुलनीय योगदान छ भने उनी सामाजिक सेवामा पनि उत्तिकै अग्रणी स्थानमा छन् । उनका तीर्थ श्रेष्ठका कविताहरु, जीन्दगीको कुरुक्षेत्रबाट, महाभारतका गीतहरु, मेरै हिमालजस्तो, जिन्दगीको गोधुलीमा, धर्सैधर्साको चक्रव्यूहमा, आमा तथा हिउँमा लेखिएका नामहरुलगायतका आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन् । उनले पोखरेली युवा सांस्कृतिक प्रतिष्ठान, विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलगायतका संघ,संस्थाहरुमा बसेर निरन्तर सामाजिक सेवा गरिरहेका छन् ।
पोखरा रत्नबाट सम्मानित अमृत गुरुङ नेपथ्य व्याण्डका गायक हुन् । उमेरले झण्डै ६ दशक पुगेका उनले झण्डै साढे तीन दशक गीतसंगीतमा बिताईसकेका छन् भने उनी आजपर्यन्त पनि उत्तिकै सकृय छन् । स्वरमा जादू भएका उनी पोखराका गर्विलो रत्न हुन् । स्वदेशमात्र होईन, विदेशमा पनि सांगीतिक यात्रा गरिरहेका उनले जहाँ पुगे पनि पोखराको प्रचारप्रसार गर्नेगर्छन् । त्यसैले पोखराको ब्राण्डिङमा उनको पनि महत्वपूर्ण योगदान छ । उनले नेपथ्य व्याण्डबाट नेपथ्य १०९३, हिमाल चुचुरे १९९५, श्रृंगार १९९९, रेशम २००१, भेंडाको उनजस्तो २००३, घटना (नेपालको घटनाक्रम) २००५, मेरो देश २००९, ऐना झ्याल २०१०, एल्वम एक्स २०१६ लगायतका एल्वम निकालेका छन् । पोखरा र सिंगो नेपालको पहिचान अभिबृद्दि, पर्यटन प्रवद्र्दन, शान्तिका लागि शिक्षा, सुन्दर शान्त नेपाल, शान्ति संगीतयात्रा, शान्तिका लागि शिक्षा भ्रमण, मानवता प्रवद्र्दनमा पनि उनको योगदान अतुलनीय छ ।
औद्योगिक घराना हरिप्रसाद पाण्डे पोखरालाई कर्मथलो बनाएका स्थापित उद्योगपती हुन् । उद्योग व्यवसायको प्रवद्र्दन, कलकारखाना/मेसिनरी टुल्स (प्रविधि)को विकास र रोजगारी सिर्जना गरि पोखराको औद्योगिकरण गर्न उनको महत्वपूर्ण योगदान छ । उनले माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वक्र्स, पोखरा फुड्स, एभरेस्ट ईञ्जिनियरिङ वक्र्स, पोखरा मेसिन टुल्स ईण्डष्ट्रिज, पोखरा नुडल्स तथा रम्बा जनरल फुड ईण्डष्ट्रिज कम्पनी सञ्चालन गर्दै आएका छन् । उद्योगतर्फ मात्र होईन, उनले मातृसेवा प्रतिष्ठानमार्फत सयौं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरि शैक्षिक उन्नयनमा योगदान दिदै आएका छन् ।
पोखरा रत्नबाट सम्मानित एकमात्र महिला रामकली खड्का विगत पाँच दशकदेखि पोखरालाई कर्मथलो बनाइरहेकी उद्यमशिलता प्रवद्र्दनका धरोहर हुन् । उनले महिला सीप विकास संस्थामार्फत हजारौं महिलालाई सीप सिकाएर उद्यमशिलता विकास गर्नुका साथै उनीहरुले उत्पादन गरेका हस्तकलाका सामानहरु निर्यात गरि आर्थिक सशक्तिकरणमा पनि उत्तिकै योगदान गरेकी छन् ।
अर्का पोखरेली रत्न तिलकमान गुभाजु पोखरेली पत्रकारिताका पर्याय जस्तै छन् । आफ्नो कमलमार्फत ६ दशकदेखि आवाजविहीनको आवाज बन्दै आएका उनी विकृति, विसंगीतबिरुद्द आगो ओकल्ने पोखरेली पत्रकार हुन् । उनी बौद्दमार्गीका एक अध्येता र प्रचारप्रसारकसमेत हुन् ।
पोखरेली रत्न प्रा.डा.बिरेन्द्रसिंह गुरुङ खेल अभियन्ता हुन् । पोखरा रंगशालाको संरक्षणार्थ पर्खाल निर्माणमा उनको महत्वपूर्ण योगदान छ । अधिकांश खेलहरु पोखरामा भित्राउने श्रेय पनि उनलाई जान्छ । क्रिकेट खेलका लागि मैदान निर्माणदेखि खेल प्रवद्र्दन गर्ने, हक्की, टेनिस, बास्केटबल, एथ्लेटिक्स, भलिबल, फुटबलको विकास, खेलाडी उत्पादन र संरचना निर्माणमा उनको उत्तिकै योगदान छ । त्यसबाहेक शैक्षिक क्षेत्रतर्फ पृथ्वीनारायण क्याम्पस पोखराको शैक्षिक उन्नयनलगायतमा पनि उनको योदगान अतुलनीय छ ।
अर्का पोखरेली रत्न प्रा.डा.बुद्दिबहादुर थापा स्वास्थ्य क्षेत्रका अग्रणी हुन् । उनले स्वास्थ्य जाँचमार्फत हजारौंलाई स्वस्थता प्रदान गर्नुका साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपति, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट रहि असल चिकित्सक मात्र नभई चिकित्सा क्षेत्रको भौतिक पूर्वाधार निर्माण, प्राज्ञिक संरचना बिस्तार र दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् ।
पोखरालाई कर्मथलो बनाएका अर्का पोखरेली रत्न चन्द्रकृष्ण कर्माचार्य औद्योगिक विकासका एक धरोहर हुन् । कर्माचार्य ग्रुपमार्फत पोखराकै अभिन्न क्षेत्र लेखनाथमा बिस्कुट, तेल, चकलेट, चामल, चिउरा, आँटा तथा डेरीजन्य उत्पादन गरि आयाता प्रतिस्थापन गर्नुका साथै त्यसमार्फत रोजगारी सिर्जना गरेर पोखराको विकासमा महत्वपूर्ण योगदान दिएका छन् । त्यतिमात्र होईन लेखनाथ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष भई उद्योगी, व्यवसायीको हक, हित र अधिकारको क्षेत्रमा तथा लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाको संस्थापक उपाध्यक्ष तथा पूर्व उपाध्यक्ष रही स्थानीयलाई स्वस्थ खानेपानी पुर्याउन भूमिका खेलेका थिए ।
त्यस्तै, पोखराका अर्का व्यवसायी चन्द्रकान्त बराल धार्मिक पर्यटन प्रवद्र्दक हुन् । उनको अगुवाईमा पोखरा–२२ पुम्दीकोटमा नेपालकै अग्लो महादेवको मन्दिर निर्माण गरिएको छ । जसका कारण सुनसान प्रायःहुने पुम्दीकोट अहिले गुल्जार बनेको छ । त्यहाँ हाल दैनिक १० हजार बढी पर्यटक पुग्ने गरेको बताईन्छ ।
हेम आचार्य सर्वोत्कृष्ट कर्मचारी
पोखरा महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी हेम आचार्य बनेका छन् । महानगरको शिक्षा महाशाखा प्रमुख रहेका उनलाई महानगरको ६७ औं स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको हो ।
त्यस्तै, महानगरले ५ उत्कृष्ट कर्मचारी र ५ कर्तव्य निष्ठ कर्मचारी घोषणा गरि नगदसहित सम्मान गरेको छ ।
महानगर पिता/माताको सम्मान
पोखरा महानगरपालिकाले १०७ वर्षिया झ्याउरीमाया तिमिल्सिना र १०४ वर्षिय काशीनाथ पण्डितलाई महानगर माता/पिताको सम्मान दिएको छ । महानगरले स्थापना दिवसमा हरेक वर्ष महानगर भित्रको सबैभन्दा ज्येष्ठ नागरिकलाई महानगर माता/पिताको सम्मान प्रदान गर्दै आएको छ । सोहि सम्मानको निरन्तरता स्वरुप पोखरा–२८ की झ्याउरीमायालाई महानगर माता र पोखरा–३२ का काशीनाथलाई महानगर पिताको सम्मान प्रदान गरिएको हो ।
प्रकाशित: २ पुस २०८२ १८:२३ बुधबार


-600x400.jpg)


