१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सांसद गौतमको प्रश्न: रास्वपाको एजेन्डा के ? जनताको सेवा, नाटक, षड्यन्त्र कि चन्दा संकलन? :

नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक एजेन्डामाथि प्रश्न उठाएकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रास्वपाले जनताको सेवा, नाटक, षड्यन्त्र र चन्दा संकलनमध्ये कुन एजेन्डा बोकेको हो भनी प्रश्न गरेकी हुन्।

उनले रास्वपाका सभापति आफैँ भिजिट भिसामा अमेरिका गएर बेपत्ता भएको, नागरिकता र दोहोरो पासपोर्ट काण्डदेखि सहकारी ठगीमा जेल परेका व्यक्तिसम्मका तथ्य सार्वजनिक भइरहेको उल्लेख गर्दै भनिन् ‘माननीयज्यूहरुलाई हेक्का रहोस्, आकाशतिर फर्केर थुक्दा त्यसको बाछिटा आफ्नै मुखमा पर्ने हो,’ उनले भनिन्।

गौतमले नयाँ दलहरूले सस्तो लोकप्रियताका लागि संसदलाई नाटकको मञ्च बनाएको आरोप लगाइन्। ‘राजनीति अब नीति र सिद्धान्तको होइन, नाटक र नक्कलीपनको अखडा बनेको छ, जहाँ आँसु, आरोप र अभिनय सबै तयार गर्ने नाटकको निर्देशक नै सांसद छन्,’ उनले भनिन्, ‘यो सबै नाटकको सेटअपपछि जेलभित्र हस्ताक्षर संकलनका नाममा क्यूआर कोड पठाएर द्रव्य उठाउने नयाँ राजनीतिक नवाचार के हो यो ?’

उनले सहकारी ठगीमा जेल परेकाहरुको लागि हस्ताक्षर संकलन गर्नु र अदालतलाई प्रभाव पार्न खोज्नु योजनाबद्ध ढंगबाट गरिएको नक्कली अभियान भएको बताइन्। ‘अब प्रश्न उठ्नैपर्छ, रास्वपाको एजेन्डा के हो ? जनताको सेवा, नाटक, षड्यन्त्र या चन्दा संकलन ?’ उनले प्रश्न गरिन्।

उनले नयाँ दलहरूले अरुलाई नैतिकताको पाठ सिकाउने तर आफ्नै पार्टीभित्रका विकृतिलाई नजरअन्दाज गरेको आरोप लगाइन्।

‘एकातिर कानुनी प्रक्रिया, नीति छन्, संसदको आफ्नै सञ्चालन विधि छ, स्थापित मानक छन्, तर उहाँहरु आफ्नै ढिपीमा हुनुहुन्छ,’ रास्वपाप्रति लक्षित गर्दै उनले भनिन्, ‘जसका कारण सिंगो सदनलाई अनावश्यक रुपमा प्रभाव पार्न खोजिरहनुभएको छ।’

सांसद गौतमले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्ने प्रधानमन्त्रीको मन्त्रिपरिषदकै सदस्य घुस डिलमा संलग्न भएको अडियो बाहिरिँदा पनि कुनै कारबाही नभएको भन्दै सरकारको आलोचना समेत गरिन्।

प्रकाशित: ३१ असार २०८२ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App