नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले राजनीतिक दलहरूले विगतका गल्ती कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा खड्काले लोकतान्त्रिक आन्दोलनका सहयात्री दलहरूले विगतमा भएका राम्रा कामलाई जनतासामु राख्दै कमिकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने औंल्याए।
उनले भने, ‘विगतमा हामीले गरेका राम्रा काम जनताका लागि समर्पित छन्। तर भएका गल्ती, कमीकमजोरीलाई नदोहोर्याउने संकल्प गर्दै हामी सुध्रिन्छौं, हामी सुधार्छौं भन्ने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।’
खड्काले राजनीतिक दलहरू सच्चिए मात्र संविधान र लोकतन्त्र बलियो हुने धारणा राखे। ‘जनताले नेता र दलहरूको परीक्षा प्रत्येक पाँच वर्षमा लिने आवधिक निर्वाचनमार्फत गर्छन्,’ उनले भने, ‘लोकप्रिय दलले राज्य सञ्चालन गर्ने हो भने दलभित्रको नेतृत्व पनि त्यस्तै लोकतान्त्रिक विधिबाट चुनिनुपर्छ।’
उनले एमाले महाधिवेशनले लोकतान्त्रिक विधिबाट सक्षम र सबल नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे। साथै, देशको वर्तमान राजनीतिक परिस्थितिलाई इङ्गित गर्दै खड्काले भने, ‘अहिले संविधान बाहिरबाट सरकार बनेको छ, संसद विघटन भएको छ। यो असंवैधानिक कदम हो। यसलाई सच्याएर देशलाई पुनः संवैधानिक बाटोमा फर्काउन दलहरू एक हुनुको विकल्प छैन।’
खड्काले नयाँ र पुराना पुस्ताको बहस भइरहेको सन्दर्भमा पुस्ताको लडाइँ भन्दा पनि विचार र पद्धतिको लडाइँ मुख्य हुनुपर्ने बताए।
उनले भने, ‘संघर्षको केन्द्रविन्दु देश बनाउने र जलाउने बिचको हो। जेन्जी वा नयाँ पुस्ताका जायज आवाजलाई समेटेर दलहरू अघि बढ्नुपर्छ।’
प्रकाशित: २७ मंसिर २०८२ १५:५० शनिबार





