राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले आगामी निर्वाचनमा आफू फराकिलो मतान्तरसहित विजयी हुने दाबी गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले विपक्षी भन्दा ७ देखि १० हजार बढी मत ल्याएर जित्ने जिकिर गरेका हुन्।
विगत लामो समयदेखि यस क्षेत्रबाट जितेका प्रतिनिधिहरूले जनजीविकाका सामान्य समस्या समेत समाधान गर्न नसकेको भन्दै उनले मतदातामा ठूलो निराशा रहेको बताए।
बमले यस क्षेत्रबाट पटक-पटक चुनाव जितेर मन्त्री र सरकारको नेतृत्वमा पुगेकाहरूले सामान्य पूर्वाधारमा समेत काम गर्न नसकेको आरोप लगाए।
उनले भने, ‘पानी, ढल, खोला र बागमती सभ्यताका समस्या ३०–४० वर्षअघि जस्ता थिए, अहिले पनि उस्तै छन्। वर्षौँदेखि शक्तिमा रहेकाहरूले न ढलको समस्या सुल्झाए, न त अर्बन फ्लडिङ नै रोक्न सके।’
उनले मतदाताहरूमा पुराना दल र नेताहरूप्रति चरम वितृष्णा रहेको भन्दै यसपटकको नतिजा फरक आउने बताए। ‘पाँच पटक सरकारमा र तीन पटक सांसद भएर पनि जनताको जीवनस्तरमा सामान्य परिवर्तन ल्याउन नसक्नु लज्जास्पद हो,’ उनले भने, ‘अहिले हामीलाई भत्किएका संरचना सुधार्ने चुनौती थपिएको छ।’
लामो समयदेखि काठमाडौं क्षेत्र नम्बर-१ मा तयारी गरिरहेका बमले अन्तिम समयमा क्षेत्र नम्बर-४ रोज्नुको कारण पनि खुलाए। पार्टीले यस क्षेत्रमा ‘हेभिवेट’ र सशक्त उम्मेदवारको आवश्यकता महसुस गरेपछि आफूले चुनौती स्वीकार गरेको उनले प्रष्ट पारे।
‘काठमाडौं- ४ निकै संवेदनशील र महत्त्वपूर्ण क्षेत्र हो। यहाँ सशक्त उम्मेदवारी दिनुपर्छ भन्ने पार्टीको निष्कर्षपछि डा. स्वर्णिम वाग्ले, सोबिता गौतम र गणेश कार्कीसँगको छलफलमा मैले २ मिनेटमै निर्णय लिएर यहाँ आएको हुँ,’ उनले भने।
विगत १६ वर्षदेखि सामाजिक अभियान र विवेकशील अभियानमा सक्रिय रहेका कारण आफूलाई मतदाताले चिनेको र विश्वास गरेको उनको भनाइ छ।
प्रकाशित: १४ माघ २०८२ १९:२५ बुधबार





