पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा फर्किएर राजनीतिमा सक्रिय हुने घोषणा गरेपछि विपक्षी दलका नेताहरूका तर्फबाट पहिलो पटक नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उनीसँग भेटघाट गरेका थिए।
गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका अवसरमा एमालेमा सदस्यता नवीकरण गरेको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीसँग त्यसको छैटौं दिन असार १९ गते बिहीबार भंगालस्थित उनकै निवासमा भेटघाटका लागि श्रेष्ठ पुगेका थिए।
करिब एक घण्टाको भेटमा श्रेष्ठले भण्डारीसँग राजनीतिमा आउनुको औचित्य र कारणहरू पुष्टि गर्न सक्नुपर्नेमा जोड दिएका थिए। श्रेष्ठले माओवादी केन्द्रको राजनीतिमा आएका नन्दबहादुर पुनको उदाहरण पनि दिएका थिए। खासगरी राजनीतिमा आउँदा राजनीतिक औचित्य पुष्टि गर्न सकिएन भने त्यसले जोखिम निम्त्याउने उनको भनाइ थियो। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि केलाएर नेपालमा वाम एकताको सम्भावना रहेको र त्यसलाई पुष्टि गर्न सक्नुपर्ने धारणा पूर्वराष्ट्रपति भण्डारीसँग राखेका थिए।
‘मैले उहाँलाई भेटेर अपवादका चुनौतीहरू सामान गर्नुपर्ने, औचित्य पुष्टि गर्नुपर्ने र अहिलेको समसामयिक राजनीतिमा वाम एकताको आवश्यकताबारे प्रस्ट हुँदै त्यसको भूमिका निर्वाह गर्न सके मात्रै राजनीतिमा आएको औचित्य साबित गर्न सकिन्छ भनेको हुँ,’ उनले भने। श्रेष्ठले यस्तो धारणा राख्दा पूर्वराष्ट्रपति भण्डारी मौन बसेकी थिइन् अर्थात् वाम एकताबारे उनको प्रस्ट धारणा आएको थिएन।
भण्डारीसँग माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भेटघाट र कुराकानीबारे नागरिकले असार २३ मा समाचार प्रकाशित गरेको थियो। वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार वैचारिक, नीतिगत र सैद्धान्तिक विषयमा धेरै कुराकानी भएको थियो। ‘धेरैजसो वैचारिक, नीतिगत र वैचारिक विषयमा कुराकानी भयो। मुलुकको लोकतान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको विषयमा कुराकानी भएको थियो,’ श्रेष्ठले भने।
श्रेष्ठका धारणाहरू धैर्यसाथ सुनिरहेकी भण्डारीले वाम एकताको विषयमा कुनै पनि धारणा अहिले नबनाएको र सुझावलाई ग्रहण मात्र गरेको बताएकी थिइन्। आफू एमालेको राजनीतिबाटै राष्ट्रपति भएका कारण फर्केर एमालेमै क्रियाशील हुन चाहेको र त्यसपछि मात्रै अन्य विषयमा सोच्ने उनले बताएकी थिइन्। पूर्वराष्ट्रपति भण्डारीसँगको भेटघाटपछि अमेरिका पुगेका श्रेष्ठ फर्केर आएपछि वामपन्थी नेताहरू र वाम राजनीतिमा सामीप्य राख्ने नेताहरूसँग मुलुकको लोकतान्त्रिक आन्दोलन र यसको अवस्था तथा समाजवादी आन्दोलनको विषयमा निरन्तर कुराकानी गरिरहेका छन्।
सोमबार मात्रै उनीसँग जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कुराका गरे। श्रेष्ठ निवासमा पुगेका यादवले समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ। राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ। लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने र समृद्ध नेपालमार्फत समाजवादको दिशामा अघि बढ्नुपर्ने विषयमा पनि विचार–विमर्श भएको पनि सचिवालयको दाबी छ। एमाले हुँदै माओवादीबाट मधेसवादी क्षेत्रीय राजनीति गरिरहेका यादव वामपन्थी नेताहरूसँग नजिक छन्।
श्रेष्ठले यादवलाई भेटघाट गर्नुअघि वामपन्थी नेताहरूसँगको भेटघाटलाई तीव्र पारेका थिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पार्टी एकीकरणको विषयमा कुराकानी गरिरहका छन्। ‘माधव नेपालसँग पनि कुराकानी भइरहन्छ,’ श्रेष्ठले भने।
खासगरी माओवादीको साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले समान विचार भएका पार्टीहरूसँग एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वामपन्थी नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका हुन्। आइतबार एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग श्रेष्ठले करिब डेढ घण्टा छलफल गरेका थिए। मूलत: वैचारिक र नीतिगत छलफल भयो। मुलुकको लोकतान्त्रिक व्यवस्था, मुलुकको कम्युनिस्ट आन्दोलन, पार्टी एकीकरण तथा देशभक्तहरूका बिचमा सहकार्य हुनुपर्ने विषयमा छलफल भयो, पार्टी एकीकरणको सवालमा सकारात्मक छलफल भएको छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने।
डल्लुस्थित निवासमा पुगेका श्रेष्ठले समसायमिक राजनीतिक कुराकानी गरेका थिए। श्रेष्ठले साउन २१ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द र शुक्रबार मात्र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग भेटेका थिए। छलफलमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन, लोकतान्त्रिक परिवर्तनको रक्षा लोकतान्त्रिक देशभक्तहरूको सहकार्यलगायत विषयमा छलफल भएको श्रेष्ठको भनाइ छ।
‘हालै समाजवादी मोर्चा नेपालको बैठक बसी मोर्चालाई थप सुदृढ र विस्तार गर्ने एवं सातै प्रदेशमा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय सही रहेको निष्कर्ष निकालियो। बैठकले विप्लव (नेत्रविक्रम चन्द) नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने, त्यसका लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय पनि सर्वसम्मत रूपले गरेको छ। साथै समाजवादी मोर्चामा आबद्ध अन्य पार्टीहरूलगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य अघि बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरिएको छ,’ स्थायी समितिद्वारा जारी परिपत्रमा उल्लेख छ।
यसकै कार्यान्वयनका लागि श्रेष्ठले वामपन्थी नेताहरूसँगको भेटघाटलाई तीव्र पारेको स्रोतको दाबी छ। राष्ट्रिय परिस्थिति, नेपालका कम्युनिस्ट एवं वामपन्थी, देशभक्त शक्तिहरू र वामपन्थी पार्टीहरूबिच सहकार्य एवं एकताबारे छलफल हुने गरेको स्वयं वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताएका छन्। श्रेष्ठले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले हालै गरेको पार्टी एकतासम्बन्धी प्रस्तावबारे पनि जानकारीसँगै अपिल गरेका छन्।
एक सातायता श्रेष्ठले फरकफरक पार्टीका तर वामपन्थी पृष्ठभूमिका नेताहरूसँग भेटघाट गर्दै आएका छन्। उनले यसबिचमा एमालेका नेताहरूसँग भने औपचारिक भेटघाट बढाएका छैनन्। ‘एकातिर ठुलो पार्टी एमाले रहेको र अर्कातिर साना वामपन्थी दलहरूको नेतृत्व माओवादीले गर्ने भएका कारण पनि साना वाम दललाई एकताबद्ध अभियानमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लाग्नुभएको हुन सक्छ। उहाँ ढिलोचाँडो वामपन्थी शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्ने अभियानमा हुनुहुन्छ,’ श्रेष्ठनिकट एक नेताले भने।
प्रकाशित: २७ श्रावण २०८२ ०६:३७ मंगलबार





