प्रगतिशील लोकतान्त्रिक पार्टीका नाममा माओवाद छाडेका पूर्वमाओवादी नेताहरूको जमघट देखिएको छ। माओवादीबाट छुट्टिएर नयाँ वैकल्पिक पार्टी खोली असफल भएका बाबुराम भट्टराईदेखि माओवादी छाडेर हिँडेका जनार्दन शर्मासम्मको जमघटबाट उक्त पार्टी गठन भएको हो। माओवादी केन्द्रलाई नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरण गरेपछि माओवादी र क्रान्तिकारी धार छाडेको भन्दै जनार्दन शर्मालगायत नेताहरू पार्टी छाडेर हिँडेका थिए। उनीहरूकै पहलमा बनेको नयाँ पार्टीले त झनै कम्युनिस्ट धार, सिद्धान्त र नीति छाडेको छ।
नयाँ वैकल्पिक शक्ति निर्माणमा पाँच ‘स’ (स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवाद) को राजनीतिक कार्यदिशालाई अवलम्बन गर्ने प्रतिबद्धताबमोजिम २०७३ जेठ ३० काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल गठन गरेका भट्टराई अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीमा जोडिएका छन्। आवरणमा नयाँ पुस्ताले नेतृत्व गरेको देखिए पनि पुराना पुस्ताको निर्णायक भूमिका रहने गरी नयाँ दल बनाइएको हो। भट्टराई र शर्माका अतिरिक्त सो पार्टीमा राम कार्की, सुदन किराती, हिसिला यमी, सत्यनारायण भगत, दुर्गा सोव, टेकेन्द्र भट्टलगायत अधिकांश नेताहरू पूर्वमाओवादी छन्। साथै रास्वपा छाडेका सन्तोष परियार पनि सोही पार्टीका जोडिएका छन्।
नयाँ पार्टीमा भट्टराई सरंक्षक छन्। माओवादीका नामबाट १० वर्षे सशस्त्र युद्ध गरेको र नेतृत्व तहमा बसेका नेताहरू बिरक्तिएर तितरबितर हुने क्रममा शर्माले भट्टराईलाई समेत समेटेर नयाँ पार्टी गठन गर्न पहल गरेका थिए। २०७५ जेठमा एमालेसँग एकता गर्दा पहिलो पटक र पछिल्लो पटक नेकपा एकीकृत समाजवादीलगायत साना कम्युनिस्ट दलसँग एकता गर्दा नेकपा माओवादी केन्द्रले आफ्नो नाम र माओवाद छाडेपछि त्यो पार्टीमा क्रान्तिकारी पन हराएको भन्दै शर्माले अधिकांश सहकर्मीहरूलाई पुष्पकमल दाहाललाई छाडेर बाबुरामलाई भेट्न पुगेका थिए।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन), नेकपा माओवादी समाजवादी (कर्णजित), नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) बिच एकता सहमतिपत्रमा हस्ताक्षर गरेपछि शर्माले केही सहकर्मीलाई लिएर पार्टी छाडेका थिए। तर उनी आफैं माओवाद छाडेर अर्को धारमा पुगेका छन्।
आइतबार गठन भएको उक्त पार्टीका नेता शर्माले तत्कालीन माओवादी केन्द्रका संयोजक दाहाललाई लक्षित गर्दै तत्कालीन पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर आफूहरू प्रगतिशील पार्टी निर्माणमा लागेको टिप्पणी गरे।
नेता शर्माले सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए। उनले भने, ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामी पार्टीभित्रका मठाधीशहरूलाईलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं।’
शर्माको प्रगतिशील राष्ट्रिय अभियान, भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र रास्वपा परित्याग गरेका परियारबिचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो। उनीहरूबिच गत कात्तिक २८ गते नै एकता सहमतिपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा भने उनीहरूले यसअघि नै तोकिएको मितिभित्र दर्ता गराइसकेका छन्।
गत कात्तिक १९ गते माओवादी केन्द्रसहित १० वटा वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएपछि दाहालबाट अलग हुँदै शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए भने रास्वपालाई समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन नसकिएको भन्दै कात्तिक २८ गते परियारले पार्टी छाडेका थिए।
आइतबार घोषणा गरिएको प्रतिबद्धतापत्रमा उल्लेख भएअनुसार यो पार्टीले ‘नेपाली माटो हाम्रो बाटो’ नारा बोकेको छ। पार्टीले सुरुमै आत्मालोचना र स्वघोषणा गरेको छ। ‘विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा कमजोरी नगर्ने स्वघोषणा गर्छाैं,’ प्रतिबद्धतापत्रमा भनिएको छ।
पार्टीले राजनीतिक पुनःसंरचना गर्ने, आर्थिक पुनःसंरचना गर्ने, नीति र प्रणालीगत पुनःसंरचना गर्ने प्रतिबद्धता जनाएको छ। त्यसका लागि पुनर्जागरण आन्दोलन गर्ने, भ्रष्टाचारविरुद्ध महाभियान सञ्चालन गर्ने, प्रविधिको विकास र प्रयोग गर्ने लक्ष्य लिइएको छ। पार्टीको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने स्पष्ट गरिएको छ। यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त समाज विकासको नवीनतम सिद्धान्तअनुरूपको नेपाली समाजवाद रहने उल्लेख छ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीमा पाँच जनाको अध्यक्ष परिषद् घोषणा भएको छ। आइतबार घोषणा गरिएको पार्टीमा बाबुराम भट्टराई, जनार्दन शर्मालगायत नेताहरू अभिभावकीय भूमिकामा रहने बताइएको छ। पार्टी सञ्चालनका लागि अध्यक्ष परिषद् बनाइएको छ। जसमा पाँच जना छन्। अध्यक्ष परिषद्मा सुदन किराती, सन्तोष परियार, दुर्गा सोव, अशोक जैसवाल र ओजस्वी भट्टराई छन्। जेनजीसहित विभिन्न क्षेत्र, समुदाय र वर्गको प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद् बनाइएको सो पार्टीले जनाएको छ।
प्रकाशित: ८ मंसिर २०८२ ०६:२७ सोमबार




