२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नेपालमा पहिलो पटक नर्सिङमा पीएचडी गर्ने श्रेष्ठलाई विश्वविद्यालय अनुदान आयोगको जिम्मेवारी

विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा डा रोजी श्रेष्ठ नियुक्त भएकी छन्। उनी नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्। 

सचिवमा नियुक्त हुनुअघि श्रेष्ठ बी एण्ड बी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन्। उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी छन्। 

साथै, भारतको क्रिश्चियन मेडिकल कलेज , लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सोही विषयमा डिप्लोमा अध्ययन गरेकी छन्।  उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक र पीसीएल नर्सिङ पनि पूरा गरेकी छन्। 

श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन्। 

नर्सिङ अनुसन्धानमा विद्यावारिधि उपाधि हासिल गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन्। साथै, नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उनले दीक्षान्त समारोहमा तत्कालीन प्रधानमन्त्रीबाट विशेष सम्मान पनि प्राप्त गरेकी थिइन्। 

नर्सिङ शिक्षा, अनुसन्धान र व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएकी श्रेष्ठको नियुक्तिले विश्वविद्यालय अनुदान आयोगमा उच्च शिक्षा र अनुसन्धानको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: २० श्रावण २०८३ १६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App