परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशस्थित नेपाली दूतावासहरूमा रिक्त रहेका राजदूत पदको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले रिक्त स्थानमा राजदूत सिफारिस तथा नियुक्तिको गृहकार्य छिट्टै टुङ्गिने जानकारी दिएका हुन्।
मन्त्रालयमा प्राप्त भएका आवेदन तथा सिफारिसहरूमाथि आवश्यक छलफल भइरहेको उल्लेख गर्दै उनले निश्चित मापदण्ड र प्रक्रिया पूरा गरी छिट्टै राजदूतहरूको नाम टुङ्गो लगाइने बताए।
आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि छिमेकी तथा अन्य मित्रराष्ट्रहरूसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध थप मजबुत बनेको मन्त्री खनालको दाबी छ।
लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका विभिन्न कूटनीतिक संयन्त्रहरूलाई सक्रिय बनाएर प्रभावकारी रूपमा परिचालन गरिएको उनले बताए।
वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकहरूले भोग्नुपरेका समस्याप्रति मन्त्रालय संवेदनशील रहेको उनको भनाइ थियो।
विदेशमा रहेका नेपालीहरूको समस्या समाधान र सहजीकरणका लागि मन्त्रालयको स्रोत, साधन र क्षमताले भ्याएसम्म निरन्तर काम भइरहेको मन्त्री खनालले बताए।
प्रकाशित: ३ भाद्र २०८३ २१:०३ बुधबार





