निरन्तरको अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको उच्च जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका-६ एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बस्तीमुनिको जमिन भासिने र पहिरोले घर पुरिन सक्ने खतरा देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उनीहरूलाई सोही वडाको कफ्थलीटारस्थित सार्वजनिक स्थानमा सारिएको हो।
विस्थापित हुने १० घरधुरीमा १७ पुरुष र १४ महिला छन्। उनीहरूको अस्थायी बसोबासका लागि कफ्थलीटारमा १२ वटा टेन्ट निर्माण गरी सुरक्षित व्यवस्थापन गरिएको छ।
प्रहरी चौकी पारच्याङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी तथा जनप्रतिनिधिको समन्वयमा जोखिममा रहेका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो।
प्रकाशित: ३ भाद्र २०८३ २०:४८ बुधबार





