इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब १८ करोड ४३ ला ४६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको केन्द्र फिक्कलमा बिहीबार आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य निस्कल राईले नगरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले चालुतर्फ ७५ करोड २ लाख ४९ हजार र पुँजीगततर्फ ४३ करोड ४० लाख ९७ हजार रुपैयाँको बजेट समारोहमा पढेर सुनाए । दिगो विकास लक्ष्यका १६ सूचकमा आधारित रहेर बजेट बाँटफाँट गरिएको छ ।
सूचकअनुसार गुणस्तरीय शिक्षामा सबैभन्दा बढी ३०.७६ प्रतिशत रकम विनियोजन गरिएको छ । दिगो सहर र समुदायलाई १८.९३ प्रतिशत, शान्ति तथा न्यायपूर्ण र सशक्त समाजलाई १४.४० प्रतिशत, उद्योग, नवीन खोज र पूर्वाधारलाई ११.०३ प्रतिशत, समावेसी आर्थिक वृद्धि र मर्यादित कामलाई १०.९९ प्रतिशत तथा स्वस्थ जीवनका लागि ६.८४ प्रतिशत बजेट छुट्याइएको छ । अन्य सूचकका लागि पनि आवश्यकताअनुसार बजेट तय गरिएको छ ।
नगरमा चालु वर्ष १ हजार ३ सय ७ कार्यक्रम सञ्चालन गरिनेछन् । नगरका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले सीमित स्रोत र साधनका बाबजुद कार्यक्रमहरूलाई प्राथमिकता दिएर बजेट तय गरिएको बताए । ‘आवश्यक सबै कामका लागि स्रोत अभाव हुन्छ । नागरिकका आवश्यकतालाई प्राथमिकीकरण गरी बजेट तय गरिएको छ,’ उनले भने, ‘बजेटलाई सकेसम्म समावेशी बनाउने प्रयास गरिएको छ ।’
समारोहमा प्रतिनिधिसभा सदस्य राईले बालबालिकालाई दिइएको शिक्षा प्रमाणपत्र हातमा बोकेर विदेश जानुपर्ने खालको हुनु नहुने बताए । ‘सूर्योदय नगरले उपलब्धिमूलक र व्यावहारिक शिक्षाका लागि लगानी गरिरहेको छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘समग्र लगानीको प्रतिफल यस पालिकाले प्राप्त गर्ने नै छ ।’
उनले सूर्योदय नगरपालिकालाई स्रोत अभाव खास नभएको भन्दै सदुपयोग गर्नुमा सफलता हासिल हुने पनि बताए । ‘अमूर्त सम्पदाका क्षेत्रमा नगरले धेरै काम गरेको छ, अझै गर्छ भन्ने विश्वास छ,’ उनले भने, ‘पर्यटकीय नगरी, बालमैत्री घोषित सूर्योदयले तय गरेका कार्यक्रम सफल बनाएर देखाउने छ, विगतको पहिचान पनि राम्रो छ ।’
देशकै लोपोन्मुख लेप्चा जातिको मुख्य बसोबास रहेको सूर्योदय नगरले लेप्चा जातिको भाषा–संस्कृति संरक्षणमा योगदान गर्ने ज्येष्ठ नागरिक पे्रम लाप्चासहित १९ क्षेत्रका २७ जनालाई सम्मान र पुरस्कृतसमेत गरेको छ ।
प्रकाशित: ३ भाद्र २०८३ २०:४९ बुधबार





