२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

ट्रमा सेन्टरपछि सिभिल अस्पताल पुगिन् प्रधानमन्त्री, घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा घाइते भएका प्रदर्शनकारीहरूलाई भेट्ने क्रम जारी राखेकी छन्।

राष्ट्रिय ट्रमा सेन्टरको निरीक्षणपछि उनी शनिबार दिउँसो बानेश्वरस्थित सिभिल अस्पताल पुगेकी हुन्। उनले अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्।

अस्पताल पुगेर प्रधानमन्त्री कार्कीले घाइते युवाहरूसँग प्रत्यक्ष कुराकानी गर्नुका साथै उनीहरूका आफन्तलाई सान्त्वना दिइन्। उनले सिभिल अस्पतालका निर्देशक तथा चिकित्सकहरूसँग भेट गरी घाइतेहरूको उपचारको अवस्थाबारे जानकारी लिइन। साथै, उपचारमा कुनै पनि स्रोत र साधनको कमी हुन नदिन निर्देशन दिइन्।

शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार सम्हालेपछिको पहिलो दिन घाइतेहरूको अवस्था बुझ्नलाई प्राथमिकता दिएकी हुन्।

तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भएको जेन-जी आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ५१ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

सिभिल अस्पतालको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको समेत निरीक्षण गर्ने कार्यक्रम छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २८ भाद्र २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App