प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघको एकता घोषणा कोशेढुंगा साबित हुने विश्वास लिएकी छिन्।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समितिको एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै उनले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन्।
‘विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ। मेहनतपछि सफलता पाइन्छ। विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ। तपाईंहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ। शान्त तलाउमा ढुंगा हानिए जस्तो भएको छ। यसको मूल्यांकन गर्नुपर्ने भएको छ। मुलुकको हित र विकासका लागि तपाईंहरुको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ।’
उनले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्को पटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र संघको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिइन्।
प्रकाशित: १४ मंसिर २०८२ १३:३२ आइतबार





